दाङ,२७ मंसिर। तुलसीपुर उपमहानगरपालिका कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गामात्रै प्रयोगमा आईरहेको छ भने उपमहानगरपालिकाको कार्यालय रहेको उत्तर–पूर्वतर्फको पनि केही जग्गा अतिक्रमणमा परेको छ । जहाँ तीन पक्की घर निर्माण गरिएको छ । उपमहानगरपालिका कार्यालयको कित्ता नं ५ (घ) ८१२ मा त्यसरी अतिक्रमणमा परेको छ ।
उपमहानगरपालिकाका पाँचवटा कित्ता रहेका छन् । तीमध्ये तुलसीपुर बसपार्कको उत्तरतर्फ आलुमण्डी आसपासको कित्ता नं ५ (ख) ५४४ मा एक बिघा १० कठ्ठा १४ धुर जग्गा छ । अहिलेसम्म लगत सङ्कलन गर्दा ९७ घर बनेको पाइएको छ । अझै पनि त्यहाँ लगत सङ्कलन कार्य भइरहेको छ ।
त्यस्तै कित्ता नं ५ (ख)कै ५४५ मा तीन कठ्ठा जग्गा छ । जहाँ १९ वटा घर बनेका छन् । त्यस्तै कित्ता नं ५ (ख) ५४६ मा ११ कठ्ठा जग्गा छ । जहाँ ३६ घर बनेका छन् । तीमध्ये केही उपमहानगरपालिकाको संरचना रहे पनि अधिकांश जग्गा अतिक्रमणमा परेको छ ।
त्यस्तै कित्ता नं ५ (ख) ४९९३ मा ५३ हजार ५६५ वर्गमिटर जग्गा रहेको छ । सोही जग्गामा ४७ घर बनेका छन् भने अझै सोही कित्तामा लगत सङ्कलन बाँकी रहेकाले निर्माण भएका घरको सङ्ख्या धेरै हुनसक्ने तुलसीपुर उपमहानगरपालिकाका भूमि व्यवस्थापन शाखा प्रमुख माधव पौडेलले बताएका छन् ।