राष्ट्रसेवक
  • १० साउन २०८१
  • कामपाको संशोधन बजेट पारित


    • राष्ट्रसेवक
    •    
    • January 20, 2023

  • काठमाडौँ महानगरपालिकाको नगरसभाको १२औँ अधिवेशन रु दुई अर्ब ७२ करोड ६९ लाख ६३ हजार बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव पारित गर्दै सकिएको छ । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आज बसेको बैठक संशोधन बजेट पारित गर्दै सकिएको हो । कामपाको उपप्रमुख सुनिता डङ्गोलले अधिवेशनको पहिलो बैठकमा संशोधन बजेट प्रस्ताव पेश गर्नुभएको थियो । गत ११औँ नगरसभाबाट चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रममध्ये रु चार अर्ब ३६ करोड ७१ लख सात हजार बजेटका कार्यक्रमलाई संशोधनका लागि प्रस्ताव गरिएको थियो ।

    प्रस्ताव गरिएका संशोधन बजेटमध्ये छलफलबाट करिब तीन अर्ब मात्र पारित भएको हो । आजको बैठकमा विभिन्न छ कार्य सूची रहेको थियो । आज भएको दोस्रो बैठकबाट सभाबाट आर्थिक ऐन २०७९, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७, कर्मचारी सेवा ऐन २०७७ संशोधन गर्न बनेका विधेयक पारित भएको छ । त्यसैगरी सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक २०७९ पनि पारित भएको छ । सभाले जनप्रतिनिधिको सुविधा सम्बन्धी विधेयक २०७९ पारित गरेको छ ।

    यससँगै कृषि तथा पशुपंक्षी विभाग गठन भएको छ । यसअघि जनस्वास्थ्य विभागमा रहेको खाद्य गुणस्तर तथा पशुपंक्षी महाशाखा तथा अन्तर्गतका शाखा र वातावरण व्यवस्थापन विभागसँग रहेको कृषि महाशाखालाई जोडेर विभाग गठन गरिएको हो । कानुन तथा मानवअधिकार विभाग मातहतमा रहेको मिसिल शाखालाई सहरी व्यवस्थापन विभागअन्तर्गत लगिएको छ । यससम्बन्धी प्रस्ताव नगरसभाअन्तर्गत सुशासन समितिका संयोजक सिर्जना भेटवालले प्रस्तुत गर्नुभएको थियो ।

    कामपाको सङ्गठन र दरबन्दी संरचना पुनरावलोकनका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी दिइएको छ । यससम्बन्धी अध्ययनलाई कार्य पालिकामा लगिनेछ । निर्देशित जग्गा विकास कार्यक्रम, यसको मापदण्ड र मापदण्ड कार्यान्वयनका विषयबारे नगरसभा सदस्यले चर्चा गर्नुभएको थियो । त्यस क्रममा वडाध्यक्ष रामकुमार केसी, चिनीकाजी महर्जन, योगेश खड्गी लगायतले वडा नं. ३१ म निर्देशित जग्गा विकास कार्यक्रमअन्तर्गत सडकमा परेको भवन संरचनामाथि गरिएको कारबाहीका विषयमा कामपा प्रमुखसँग कारण माग गर्नुभएको थियो । —

  • ताजा समाचार