काठमाडौँ । अरेबियन परिकारका पारखीहरुलाई लक्षित गर्दै दरबारमार्गमा हलाल रेस्टुराँ खुलेको छ । राजधानीमा बग्रेल्ती रेस्टुराँ खुलेपनि अरेबियन परिकारहरुको स्वाद लिनका लागि रेस्टुराँ भेट्टाउनु दुर्लभ नै छ । अब त्यो रहर अरेबियन झझल्को दिने द ब्ल्याक गोल्ड हलाल रेस्टुराँले पूरा गर्नेछ । एक करोड रुपैंयाँ भन्दा बढीको लगानीमा खुलेको यस रेस्टुराँमा शत प्रतिशत हलाल परिकारहरुको स्वाद लिन सकिनेछ । शुक्रबार नायक नाजिर हुसेनबाट द ब्ल्याक गोल्ड हलाल रेस्टुराँको उद्घाटन भएको छ ।
द ब्ल्याक गोल्ड म्यानेजमेन्ट टिम अर्न्तगतको प्रेस्टिजिओ होल्डिङ्सले सूरुवात गरेको द ब्ल्याक गोल्ड हलाल रेस्टुराँको सजावट अरेबिक शैलीको छ । अरेबिक सोफामा बसेर बिभिन्न अरेबिक परिकारका साथै विशेष इन्डियन परिकारहरुको स्वाद लिने रहर द ब्ल्याक गोल्ड हलाल रेस्टुराँले पूरा गर्नेछ । करिब एक सय भन्दा अरेबिक परिकारका साथमा इन्डियन परिकारहरु रेस्टुराँको मेनुमा उपलब्ध छन् । यसका साथै अरेबिक कोल्ड मेजे, अरेबिक हट् ड्रिंक्स (अरेबियन टि, गावा, टर्किस कफी, अरेबिक फ्लेवरमा हुक्काको पनि स्वाद लिन पाईनेछ । मजलिसमा बसेर पारिवारिक वातावरणमा बसेर आनन्द लिन सकिनेछ । यहाँ साउदी अरब, कुवेत, कतारमा काम गरेका अनुभवी दुई जना इन्डियन सेफहरुले तयार पारेका साउदी अरेबियन, लेवनानी, सिरियन लगायत स्पेशल परिकार र फ्रेस जुस चाख्न सकिनेछ । यो विशुद्ध खानाका लागि खुलेको पारिवारिक रेस्टुराँ हो । पढ्नमा रुची हुनेहरुका लागि लाइब्रेरीको पनि सुविधा छ ।
साउदी अरेयिबा लगायत बिभिन्न गल्फ देशबाट फर्केका ११ जना नेपाली व्यवसायीहरुको समूहले सुरुवात गरेको द ब्ल्याक गोल्ड हलाल रेस्टुराँ होम डेलिभरीको सुविधा पनि प्रदान गर्नेछ । यहा बस्नका लागी दुई वटा बेग्लै रुमको ब्यवस्था छ, जहा समूहमा बसेर खानाका परिकारको स्वाद लिनुका साथै मिटिङ पनि गर्न सकिनेछ । एउटा मिटिङ हलमा १४ र अर्कोमा १६ जना बस्न मिल्ने सिट क्षमता छ । यस्तै अरेबिक सोफाले चिटिक्क पारिएको मजलिसमा एकै पटक १० जना बस्न सकिन्छ भने क्याफेमा १२ जना व्यक्ति बस्न सक्नु हुन्छ । एकै पटक रेस्टुराँमा सबै गरेर ५२ जना अटाउन सक्ने सिट क्षमता छ ।
रेस्टुराँले जम्मा १८ जनालाई रोजगारी दिलाएको छ । रेस्टुराँको व्यवस्थापनमा फिरोज खान र क्रियटिभ डाइरेक्टर तथा अर्न्तराष्ट्रिय फोटोग्राफर अफ्जल खानको व्यवस्थापन छ । ‘अरब मुलुकमा अनुमानित २० लाख नेपालीहरु छन् । तर, फर्किएका नेपालीहरुले यहाँ अरेबिक खानाका परिकारका लागि रेस्टुराँ भेटाउँदैनन् ।’ सञ्चालक मध्येका एक बालकृष्ण श्रेष्ठले भने, ‘यहाँ मुस्लिम संस्कार अनुसार हलाल मासुका परिकार चाख्न सक्नुहुन्छ ।’ साउदी अरबमा ५ वर्ष बसेर फर्किएका श्रेष्ठले विदेशमा बसेर फर्किएका नेपालीहरु रोजगारी दिने आफ्नो प्राथमिकता रहेको सुनाए । विदेशमा बस्दा सिकेको सीपलाई स्वदेश प्रयोग गर्नु आफ्नो उद्देश्य रहेको उनले सुनाए । ‘बारम्बार विदेश जान नपरोस् । सकेसम्म नेपालमै रोजगारीको अवसर सिर्जना गरौं ।’ श्रेष्ठले भने, ‘नेपालीहरुलाई बढी भन्दा बढी रोजगारी दिलाउने हाम्रो कम्पनीको लक्ष्य हो ।’
सबै तस्विरहरु : बसन्त ठकुरी