राष्ट्रसेवक
  • ०२ कात्तिक २०८१
  • अपाङ्गता संरक्षण नेपालद्वारा शङ्खरापुरलाई सहयोग


    • राष्ट्रसेवक
    •    
    • December 22, 2022

  • काठमाडौँ, ७ पुस । अपाङ्गता संरक्षण नेपालले काठमाडौँको साँखुस्थित शङ्खरापुर नगरपालिकालाई एक थान ल्यापटप सहयोग गरेको छ । बुधबार संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडाले नगरपालिकाका नगर प्रमुख रमेश नापितलाई उक्त ल्यापटप हस्तान्तरण गर्नुभएको हो ।

    सो अवसरमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखालाई उक्त सहयोग जुटाइदिएको संस्थाका अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । अपाङ्गता क्षेत्रमा महिला बालबालिका शाखालाई काम गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको उहाँले बताउनुभयो । सो अवसरमा महिला शाखामा कार्यरत निर्जला चुडाल अधिकारीलाई सम्मानपत्र प्रदान गरिएको थियो । महिला बालबालिका शाखामा कार्यरत अधिकारी अपाङ्गता क्षेत्रमा समेत काम गर्दै आउनुभएको छ ।

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा कार्यरत सूर्यकुमारी न्यौपानेले अपाङ्गता भएका व्यक्ति नै आफ्नो हकहितका लागि सक्रिय हुनुपर्ने र प्रत्येक वडामा अपाङ्गतासम्बन्धी काम गर्ने समिति सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । गत वर्षदेखि नै कार्यविधि बनाएर ‘असहायसँग उपमेयर’ कार्यक्रममार्फत १३ अपाङ्गता भएका व्यक्तिलाई रु पाँच लाख ७० हजार बराबरको सहयोग गरेको न्यौपानेले जानकारी दिनुभयो । एउटा तथ्याङ्कअनुसार नगरपालिकाभित्र दुई सय ५४ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् ।

    सहयोग हस्तान्तरण कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी सुभद्रा पुडासैनी, राजकुमार खतिवडा, सुबोध थापा र संस्थाकी कोषाध्यक्ष दुर्गा तामाङ विष्ट, सदस्य कविता बस्नेत, केशव बुढाथोकी, शर्मिला क्षेत्री, बीना खतिवडालगायतको उपस्थिति रहेको थियो ।

  • ताजा समाचार