राष्ट्रसेवक
  • १५ फागुन २०८०
  • कोप २८ मा नेपालको भूमिका


    • राष्ट्रसेवक
    •    
    • November 29, 2023

  • अभि थापा

    नेपालमा पनि जलवायु परिवर्तनको असर देखिन थालेको छ । नेपालमा पछिल्लो समय जलवायु परिवर्तनको असरले सगरमाथा लगायत हिमाली क्षेत्रमा निकै नराम्रो असर पारिरहेको छ । विकसित मुलुकको औद्योगिक विकासले बढाएको कार्बन उत्सर्जनका कारण बढ्दो विश्वव्यापी तापक्रमले हिमालको हिउँ पग्लँदै जानु र सेतो हिमाल काला पत्थरमा परिणत हुँदै जानु विश्वकै चासोको विषय छ । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको न्यून योगदान रहे को छ । तर पनि दुई ठुला उदाउँदा राष्ट्रहरु चिन र भारतको बिचमा रहेकोले नेपालले पनि ठुलो मुल्य चुकाउनु परेको अवस्था छ । नेपालले जलवायु परिवर्तनका असरहरू निरन्तर भोगिरहेको छ ।

    अहिले विश्वका विकसित मुलुकले अन्धाधुन्ध विकासलाई तीव्र गति दिएका कारण जलवायु परिवर्तनले उग्ररूप लिँदै आएको छ । विज्ञान र प्रविधिलाई मानवमैत्री बनाउन सकिएको छैन । आणविक भट्टी, आणविक हातहतियार, कार्बन उत्सर्जन, खनिज उत्खनन् तथा जीवाश्म इन्धनको खपतलाई न्यूनीकरण नगर्दा विश्व नै अहिले जलवायु परिवर्तनको संकटबाट गुज्रिरहेको छ ।

    जलवायु परिवर्तनका कारण नेपालले अर्थतन्त्रमा विशेष योगदान गर्ने कृषि, जलस्रोत, पर्यटन लगायतका विषयगत क्षेत्रहरू लगायत हिमाली क्षेत्रमा हिमताल पग्लने र फुट्ने, पहाडी क्षेत्रमा पहिरो र सुक्खा खडेरी हुने, तराईमा बाढीपहिरो जानेलगायतका चुनौतीहरुको सामना गरिरहेको छ । यो प्रतिकुलताले लाखौँ मानिसको जनजीवनलाई खतरा परेको छ । जसले गर्दा नेपाल ले दिगो बिकासको लक्ष्य हाँसिल गर्न नसकिरहेको अवस्था छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलन कन्फेरेन्स अफ द पार्टिज (कोप–२८) यही मङ्सिर १४ देखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा हुँदै छ । जहाँ नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालसहित १६० देशका राष्ट्र वा सरकार प्रमुखहरूले सम्बोधन गर्दछन ।

    कोप -२८ मा नेपालले नेतृत्वदायी भूमिका बहन गर्नु पर्ने देखिन्छ यो पटकको सम्मेलनमा नेपालले आफ्नो समूहमा जलवायु परिवर्तनका असरबाट भएको हानि नोक्सानीको क्षतिपूर्ति, जलवायु वित्तमा सहज पहुँचलगायतका मुद्दाको नेतृत्व लिन सक्नु पर्छ । जलवायु सम्मेलन क्षतिपुर्ती रकम माग्ने र प्राप्त गर्ने एक पाटो भयो । अर्को पाटो भनेको समस्या र मुद्दा मिल्ने मुलुकहरू मिलेर साझा एजेन्डा उठाउँदै सामूहिक सम्झौता गर्नु पनि हो ।

    । कोप–२८ सम्मेलनको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले नेपालको चारदिने औपचारिक भ्रमण गर्नुभएको थियो । उहाँले नेपालमा भइरहेको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने सम्बन्धमा संसद्को संयुक्त सदनलाई नै सम्बोधन गरेको हुनाले यो विषयले विशेष अर्थ राखेका छन् । उहाँले जलवायु परिवर्तनको विषयलाई प्राथमिकता दिएर हिमाली क्षेत्रको अवलोकन गर्नुले पनि यो सम्मेलनमा नेपालको आवाजप्रति विश्वको कान ठाडा र मन खुला हुने अपेक्षा गरिएको छ ।

    जलवायु सम्मेलनमा नेपालको परिचय हिमाली मुलुक, अल्पविकसित मुलुक र जलवायु परिवर्तनको असरले सबैभन्दा बढी जोखिममा रहेको मुलुक भनेर दिइने गरेको छ । जसरी नेपालको परिचय विश्व मञ्चमा हुने गरेको छ, त्यसलाई अवसरका रूपमा नेपालले प्रयोग गर्न सक्नु पर्छ । जलवायु परिवर्तनसम्बन्धी यो विश्व सम्मेलनमा निरन्तर सक्रिय भूमिका खेलिरहेको छ । यो पटक जलवायु परिवर्तनको असर न्यूनीकरणको आवश्यकता र नेपाली अडानको सन्देश विश्वलाई दिनुपर्छ । जसरी सन् २००९ मा मन्त्रीपरिषद्को बैठक नै कालापत्थरमा आयोजना गरी विश्वलाई हिमाली संवेदनशीलता देखाएको थियो ।

    कोप–२८ मा ‘अरुले गरेको गल्तिमा हामिले सजाय भोग्न सक्दैनौँ, जसको कार्वन उत्सर्जनमा ठुलो भूमिका छ, उसले हाम्रो अधिकारका रूपमा जलवायु कोषमार्फत क्षतिपूर्ति दिनु पर्छ’ भन्ने अधिकारको खोजी नेपालले गर्नुपर्छ । यो कोही प्रती सहयोगको याचना होइन , यो आफ्नो अधिकारको खोजी हो ।यस पटकको सम्मेलन नेपालका लागि विशेष हुनुपर्छ।

  • ताजा समाचार