राष्ट्रसेवक
  • ११ साउन २०८१
  • बेमौसमी वर्षाले लजविद्युत्, सडक र कृषिमा क्षति


    • राष्ट्रसेवक
    •    
    • October 8, 2022

  • गलेश्वर, २२ असोज । विगत पाँच दिनदेखिको अविरल बेमौसमी वर्षाका कारण नेपालीको महान् चाड बडादसैँ निरसिलो बनेको छ । लामो बेमौसमी वर्षाले म्याग्दीको जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवनसमेत अस्तव्यस्त बनेको छ ।

    वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरो आउँदा स्थानीयवासी त्रस्त भएका छन् भने दसैँ मनाउन आफन्तकोमा जाने आउने सर्वसाधारण घरभित्र नै गुम्सिएर बस्न बाध्य भएका छन् । बेमौसमी वर्षापछि आएको बाढीले जिल्लाको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको ३५ किलोवाट क्षमताको इङ्लेखोला लघुजलविद्युत्को मुहान बगाएपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।

    लघुजलविद्युत् अवरुद्ध भएसँगै गुर्जामा रहेका दुई सय ६५ घरधुरी अन्धकार बनेका छन् । केन्द्रीय विद्युतको पहुँच नपुगेको र लघुजलविद्युत् अवरुद्ध बनेसँगै स्थानीयवासीले रातमा बत्ति बाल्न पाएका छैनन् भने सञ्चार सम्पर्कसमेत विच्छेद भएको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

    वर्षा रोकिएपछि मात्रै बाढीले पुर्‍याएको क्षतिको यकिन हुने जनाइएको छ । म्याग्दीमा सडक सञ्जालले नजोडिएको एकमात्रै वडा गुर्जा भौगोलिकरुपमा विकट छ । चार दिनदेखिको वर्षाका कारण जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा खसेको पहिराका कारण जिल्ला सदरमुकाम बेनीदेखि बेनी–दरबाङ र बेनी–जोमसोम सडक अवरुद्ध भएका छन् ।

    जिल्लाका लेकाली क्षेत्रमा पहिलोपटक मध्य असोजमै हिमपात भएको छ । अविरल वर्षाका कारण बढेको चिसोसँगै गुर्जा गाउँको नजिकका डाँडामा शुक्रबार दिउँसोदेखि हिमपात भएको हो । असोज महिनामै हिमपात भएको यो पहिलो पटक भएको स्थानीयवासीको भनाइ छ । गाउँ आसपासका डाँडामा हिमपातले सेताम्मे भएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।

    ँगाउँ आसपासमा असोज महिनामै हिमपात भएको हामीले थाहा पाउँदासम्मकै पहिलो हो, वर्षा र हिमपातका कारण चिसो अत्यधिक बढेर जनजीवनमा असर पारेको बनाएको छ”, उहाँले भन्नुभयो ।

  • ताजा समाचार