राष्ट्रसेवक
  • १२ साउन २०८१
  • पुरुषोत्तम दाहालको दशौँ कृति ‘काला बादलमा उज्याला पाइला’ सार्वजनिक


    • राष्ट्रसेवक
    •    
    • October 20, 2022

  • काठमाडौँ, ४ कात्तिक । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको दशौँ कृति ‘काला बादलमा उज्याला पाइला’ सार्वजनिक भएको छ । दाहालको कविता सङ्ग्रह ‘काला बादलमा उज्याला पाइला’ शिखा बुक्सले प्रकाशन गरेको हो । पुस्तक सार्वजनिक गर्नुहुँदै पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता नरहरि आचार्यले दाहालको नेतृत्वमा सञ्चालन भएको विश्लेषणसहितको रेडियो कार्यक्रम घटना र विचारबाट आफू प्रभावित भएको बताउनुभयो ।

    दाहालले सञ्चालन गरेको रेडियो नेपालको कार्यक्रम घटना र विचारबाट नै उहाँको बौद्धिकता स्पष्ट हुने उल्लेख गर्नुहुँदै नेता आचार्यले कृति पनि खँदिलो रहेको बताउनुभयो । दाहालले पुस्तक प्रकाशन गर्नु अघिदेखि नै उहाँको व्यक्तित्व नै आफूले अध्ययन गर्दै आएको पूर्वमन्त्री आचार्यले सुनाउनुभयो ।

    संयुक्तसमेत कविता सङ्ग्रहका रुपमा चौथो कृति ल्याउनुभएका साहित्यकार दाहालले मनमा केही कुराले प्रभाव पार्ने बित्तिकै कविता लेख्ने गरेको बताउनुभयो । लेखुँ भनेर योजनाबद्ध रुपमा आफूले कविता नलेख्ने गरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कोरोना महामारी बढेपछि सरकारले सबै व्यवस्था नागरिकले नै गर भन्यो, त्यो देखेर मनमा आएका विषयलाई कवितामा उतारेको हुँ, त्यसअघिको एउटा कवितामात्र कृतिमा समावेश गरिएको छ ।”

    राजनीतिबाट पराजित भएर आफू लेखन नआएको दाहालले बताउनुभयो । पहिलेखि नै लेख्दै आएकाले त्यसलाई निरन्तरता दिएको उहाँले जानकारी गराउनुभयो । ११औँ कृतिका रुपमा आफूले उपन्यास लेखिरहेको दाहालले बताउनुभयो । उहाँको यसअघि शान्ता उपन्यास प्रकाशित भइसकेको छ ।

    कार्यक्रममा पूर्वसांसद एवं लेखक डा शोभाकर पराजुलीले दाहालका कृति गुणस्तरीय हुने गरेको बताउनुभयो । प्राडा कुमार कोइरालाले दाहालका कविता पढेर फेरि आस्थाका लागि आन्दोलन हुन्छ कि हुन्न भन्ने लागेको सुनाउनुभयो । कुनै पनि दल सिद्धान्तमा नचल्दा यस्तो अवस्था आएकाले त्यसलाई दाहालले कवितामा उतार्नुभएको उहाँको भनाइ थियो ।

    कवि कलानिधि दाहालले पूर्वराजा महेन्द्रले २०१७ सालमा पहिलो जननिर्वाचित बीपी कोइरालालाई जेलमा राख्दा नेपाली साहित्यले दर्जनौँ कृति पाएजस्तै दाहाललाई राजनीतिमा सक्रिय हुन नदिनेका कारण पनि साहित्यिक क्षेत्रमा गुणस्तरीय कृति आएको बताउनुभयो ।

    कविता कृतिमाथि समीक्षा गर्नुहुँदै प्राडा नारायण चालिसे, प्राडा देवी नेपाल र सुमन घिमिरेले हृदयबाट जन्मिएका मानवीय संवेग छुने कविताले पाठकलाई आकर्षित गर्ने बताउनुभएको थियो । दाहालका कवितामा धेरै भने स्वच्छन्दतावादी चेतको रहेको उहाँहरुको भनाइ थियो ।

  • ताजा समाचार