राष्ट्रसेवक
  • ११ साउन २०८१
  • पाँच वर्षसम्म नपुगेको मुसहर बस्तीमा पुग्न थाले नेता


    • राष्ट्रसेवक
    •    
    • November 2, 2022

  • जलेश्वर, १६ कात्तिक । गाउँघरमा पाँच वर्षपछि नेता देख्दा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको–३ खैरा गाउँको मुसहरबस्तीका बासिन्दा छक्क पर्न थालेका छन् । नेताहरुको बाक्लो उपस्थितिले उनीहरुलाई निर्वाचन आएको आभास हुन थालेको छ । ‘विसं २०७४ को निर्वाचनमा आफूले भोट दिएपछि पहिलो पटक नेताहरुलाई आफ्नो गाउँघरमा देख्दा नेताहरुलाई हाम्रो भोट चाहिने बेला भएछ भन्ने थाहा भयो’, बस्तीका अगुवा मुसहर अमृत सदा भन्नुहुन्छ, ‘विगत पाँच वर्षमा एक पटक पनि नेता नपुगेको अहिले दिनरात नेता पुग्न थालेका छन् । हामी चाहिने भनेकै उहाँहरुलाई चुनावको बेला त हो नि ।’

    उहाँका अनुसार सधैँ बेलुका ७/८ बजे सुतिसक्ने मुसहरबस्ती अहिले प्रत्येक दिन राति १/२ बजेसम्म जाग्राम बस्छन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको समय नजिकिँदै गएसँगै अहिले देशभरिका प्रत्येक गाउँघरमा नेता, कार्यकर्ताको दौडधुप सुरु भएको छ ।अघिल्लो निर्वाचनमा सो बस्तीमा पुगेका नेताहरुले आफू जितेपछि मुसहर समुदायको लागि दर्जनौँ योजना तथा कार्यक्रम ल्याउने आश्वासन बाँडेर चुनाव जिते तर ती नेताहरु मुसहरबस्तीमा एकदिन पनि पुग्न सकेका छैनन् । अहिले मुसहरबस्तीका मतदाता नेताको ‘रङ फेरियो, बस्ती फेरिएन’ भनेर दुःख व्यक्त गर्दछन् ।

    ‘सबै चुनावमा लालपुर्जा बन्ने आशले नेतालाई भोट दिन्छु तर अहिलेसम्म कुनै पनि नेताले मुसहरको लालपुर्जा बनाइदिएन्’ अगुवा मुसहर अमृतले थप्नुभयो । महोत्तरीको सदरमुकाम जलेश्वर बजारबाट मात्रै एक किलोमिटर दूरीमा रहेको खैरा गाउँका मुसहर समुदाय कुनै नेतालाई भेट्न जाँदा नेताहरु बेवास्ता गर्ने गरेको, कसैको कुरा सुन्न तयार नहुने गरेको र कुनै कामकाजसमेत नगरिदिने गरेको उहाँहरुको गुनासो छ । ‘मुसहरलाई आपतविपद पर्दा पनि जनप्रतिनिधिलाई बस्तीमा बोलाउँदा आउँदैनथे । फोन गर्दा उठाउँदैनथे र समस्या सुनाउँदा पन्छिन्थे’ बस्तीका ६० वर्षीया मुसहर महिला तेतरी सदाले दुःखेसो सुनाउनुभयो ।

    निर्वाचन नजिकिएसँगै त्यही बस्तीमा अहिले नियमित नेताको भीड लाग्छ । ‘चुनावको मिति तय भएयता दिनहुँजसो नेता, कार्यकर्ता यसपटकको निर्वाचनमा मुसहरको मत पाएर आफूले जितेपछि यहाँ विकासको लहर ल्याउने आश्वासन बाँड्न सुरु गरेका छन् । मुसहर मतदातालाई अहिले नेताको भाषण सुन्न भ्याइनभ्याइ छ’’ बस्तीका अर्का ७० वर्षीया महिला सिलिया सदाले बताउनुभयो । जलेश्वर नगरपालिका–३ खैरा गाउँमा करिब ९० घर मुसहर समुदायको बस्ती छ । उनीहरुका लागि न त शौचालयको व्यवस्था छ, न त खानेपानी पाइपकै सहजता छ । सिङ्गो बस्तीमा एक थान मात्रै खानेपानी पाइप (ह्याण्डपाइप) छ भने प्रत्येक ८/१० घरमा एउटा शौचालय रहेको स्थानीयवासी सुकमरिया सदाले भावुक हुँदै बताउनुभयो ।

    उहाँका अनुसार नेताहरुले सो बस्तीमा विकास गरिदिने आश्वासन बाँडेर प्रत्येक चुनावमा आफूहरु नेताको भाषण सुन्न जाने गरेको र भरोसा गरेर मत पनि दिने गरेका छन् । बस्तीमा खानेपानी, नाला र सडक बनाउनुपर्ने वर्षौंदेखिको माग अहिले पनि यथावत नै छ । ‘‘सबै चुनावमा घर बनाइदिन्छु, खानेपानी पाइप, स्कुल, नालालगायतका विकासको काम गरिदिने आशले नेतालाई भोट दिन्छु’’ स्थानीय लड्डु सदाले बताउनुभयो । भारतीय सीमासँग जोडिएको यो जलेश्वर नगरपालिका महोत्तरी जिल्लाको सबैभन्दा गहिरो ठाउँ हो । वर्षाको बेला घर–घरमा पानी पस्छ । मुसहर बस्ती ऐलानी जमिनमा छ । नब्बे घरधुरी रहेको यो बस्तीमा करिब एक सय ५० जनालाई नागरिकता समेत छैन भने उनीहरु पुस्तौंँदेखि यहीँ बस्दै आएको छ । बुबाको नागरिकता नभएकै कारण छोराछोरीकोसमेत जन्मदर्ता नबन्दा यस बस्तीका अधिकांश बालबालिका विद्यालयको मुखसमेत देख्न पाएका छैनन् ।

    यस बस्तीका मुसहरले गत चुनावमा नागरिकता बनाइदिने, जन्मदर्ता बनाइदिने, वर्षाको पानी व्यवस्थापन गरिदिने, खानेपानी, सडक र सबै ऐलानी जमिनको लालपुर्जा बनाइदिनुपर्ने माग राखेका थिए । तर त्यस्ता वाचा, बन्धनको पनि पाँच वर्ष वितिसक्यो तर अहिलेसम्म पनि यो बस्तीमा केही हुनसकेको छैन । अझै पनि दर्जनाँै व्यक्ति नागरिकताविहीन, दर्जनौँं बालबालिका जन्मदर्ताविहीन र बस्तीमा सडक, विद्यालय, खानेपानी, नाला निर्माणको काम पनि बाँकी नै रहेको छ । स्थानीय अर्जुन सदा भन्नुहुन्छ, “बस्तीमा मात्र एउटा चापाकल (खानेपानी पाइप) हुँदा गर्मीमा पानीको हाहाकार हुन्छ । नाला नबन्दा वर्षात्मा उनीहरूको घर डुब्छ । लालपुर्जा नहुँदा घरबारविहीन हुने चिन्ता छ । हरेक निर्वाचनमा उनीहरूले यी माग अघि सार्छन् र बढी आश्वासन दिने नेतालाई मत दिन्छन् । उनीहरूका माग अहिलेसम्म पूरा भएका छैनन् ।

    खैरा गाउँभरि बिजुली बत्ती पुगे पनि गाउँमै रहेको मुसहरबस्ती वर्षौँंदेखि अँध्यारो रहेको छ । गरिबी र विपन्नताले गर्दा कतिले बिजुली बत्ती जडान नै गर्न सकेका छैनन् भने एक÷दुई जनाले जडान गर्न चाहे पनि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा मिटर नपाएको उहाँहरुको गुनासो छ । गाउँमा बिजुली बत्ती त छ तर विद्युत् कार्यालयले लालपुर्जा नभएकालाई मिटर दिन मानेको छैन । स्थानीय सिरिया सदा भन्नुहुन्छ, ‘‘मुसहरबस्ती अझै उस्तै छ । यहाँका सबै सधैंँजना अभावमा बाँचिरहेका छन् । यो बस्तीमा नेता भोटको बेलामा मात्रै आउँछन् । मत पाएपछि नेताको रङ फेरिन्छ तर बस्तीको रङ फेरिँदैन ।’’ निर्वाचनमा नेता परिवर्तन भए पनि आफूहरूको बस्तीमा परिवर्तन हुननसकेको उहाँको गुनासो छ ।

    प्रत्येक निर्वाचनमा नेताले झुठो आश्वासन दिएर बस्तीको भोट लिने गरेको सिरियाले थप्नुहुन्छ । ‘‘नेपाल सरकारले बडो धुमधामका साथ देशलाई खुलादिशामुक्त घोषणासमेत गरिसकेको अवस्थामा यस बस्तीमा शौचालय नहुँदा खुला ठाउँमा शौच गर्नुपर्ने बाध्यता छ । सबै नेताहरूले बस्तीमा सार्वजनिक शौचालय बनाइदिने आश्वासन दिए पनि कसैले पूरा नगरेको’’ स्थानीयवासी बिरु सदाको गुनासो छ ।यहाँका अधिकांश बासिन्दा जमिन्दारको जमिन बटैया अर्थात अधियाँमा खेती गर्छन् । वर्षाको बेला खेत डुबानमा पर्छ भने वर्षा नभएको बेला खडेरी लागेर बाली नष्ट हुन्छन् । त्यसको व्यवस्थापन नेताले गरिदिँदैनन् । गरिबको भोको पेट भर्न कहिले कुनै पहल गरिँदैन । भोट माग्ने बेला त के के न गर्छु भन्दै आउने दर्जनौँं नेता फेरि जितेर गएपछि कता हराउँछन् ?’ स्थानीयवासी विमलेश सदा प्रश्न गर्नुहुन्छ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मा पर्ने सो बस्ती जिल्लाको सङ्घीय निर्वाचन क्षेत्र नं ३ मा पर्दछ भने २०७४ को निर्वाचनमा यस क्षेत्रबाट सङ्घीय सांसदमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित हुनुभएको छ भने मधेश प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ३ ‘ख’ अन्तर्गतपर्ने यस क्षेत्रबाट मधेश प्रदेशसभा सदस्यमा रानीकुमारी तिवारी निर्वाचित हुनुभएको थियो ।

    वर्षौंदेखि मुसहरहरुको समस्याका आलो घाउ अझै आलै रहेको छ । उनीहरुको समस्या अझै जस्ताको तस्तै रहेका छन् । सधैँ गास, बास र कपासको समस्यामा जेलिएका सो बस्तीका मुसहर अझै पनि तिनै समस्यामा जेलिएका छन् । वर्षौदेखि गरिबी, विपन्नता र समस्यासँग जुझ्दै गरेका सो बस्तीका मुसहरका लागि न वडाध्यक्ष न नगरप्रमुख न प्रदेश सांसद र सङ्घीय सांसद समेतले अहिलेसम्म केही नगरिदिएको मुसहरहरुको सामूहिक गुनासो छ । अहिले भोट माग्न बिहान बेलुका र राति अबेरसम्म पनि थुप्रै नेता पुग्ने सो मुसहर बस्तीका ८५ जना बालबालिका जनप्रतिनिधकै कारण जन्मदर्ताविहीन रहेको स्थानीय मुसहरहरु आरोप लगाउँछन् । गरिबी र विपन्नताले जरो गाडेर बसेको सो गाउँको दलित मुसहरबस्तीमा बसोबास गर्ने अधिकांश परिवारका ८५ जना बालबालिका जन्मदर्ताविहीन रहेको सम्बन्धमा उनीहरुले पटक–पटक वडा कार्यालय नगरपालिकाको कार्यालय र आफ्ना प्रदेश तथा सङ्घीय सांसद समेतलाई जानकारी गराए पनि कतैबाट कुनै सहयोग नपाएको स्थानीय बिरजु सदाले दुःखेसो सुनाउँदै उनीहरुले वास्ता नदिएकै कारण अहिले आफ्नो बस्तीका बालबालिका जन्मदर्ताविहीन रहेको बताउनुभयो ।

    कस्तो बिडम्बना, जिल्लाको सदरमुकाममै पर्ने खैराको मुसहर बस्तीका दर्जनौँ बालबालिका जन्मदर्ताविहीन हुँदा उहाँहरु विभिन्न अधिकार र सुविधाबाट वञ्चित हुनुपरेको उनीहरु बताउँछन् । जन्मदर्ताको अभावमा सो बस्तीका बालबालिकाले नेपाल सरकारबाट प्राप्त हुने पोषणभत्ता, बालबालिकासँग सम्बन्धित अन्य सुविधा र निःशुल्क शिक्षाबाट समेत वञ्चित रहेको बस्तीका ५५ वर्षीया महिला जिबछी सदाले बताउनुभयो । चरम गरीबीका कारण त्यस बस्तीका अभिभावक पनि बालबालिकालाई आवश्यक जन्मदर्ता बनाउनदेखि सरकारी सुविधा प्राप्त गर्नेसम्म पनि खासै मतलब नराखेको र बिहानबेलुका खानपानकै जोहोमा लाग्ने गरेको बस्तीकी वृद्ध महिला मरनी सदाले बताउनुभयो ।

    सोही बस्तीका बहादुर सदाले पनि बालबालिकाले के खाने, कसरी बाँच्ने कुराको व्यवस्थापनमै बस्तीका महिला, पुरुषहरुको दिनचर्या बित्ने गरेको कारण अरु कुनै कुरामा ध्यान पु¥याउन नसकिएको थप्नुभयो । जिल्लाको सदरमुकाममै दर्जनांैँ बालबालिका जन्मदर्ताविहीन र अभिभावक नागरिकताविहीन हुनु स्थानीय सरकार र जनप्रतिनिधिको लागि लज्जास्पद कुरा रहेको जलेश्वरका बुद्धिजिवीको ठहर छ भने खैरा गाउँका मुसहर बालबालिका र तिनका अभिभावकलाई बस्तीमै गएर जन्मदर्ता र नागरिकता बनाइदिन सरोकारवालासँग जोडदार माग गरेका छन् ।

    अहिले सो बस्तीका मुसहरुले त नेपाल सरकारले जनप्रतिनिधिका लागि आचारसंहिता लागू गरिदिएर उनीहरु केही गर्न नसक्ने भएका छन् । आधारभूत र जन्मसिद्ध अधिकारको कुराका लागि कुनै पनि बेला प्रशासनिक टोली पठाएर आफूहरुको समस्या समाधान गर्न÷गराउने सक्ने भएकाले आफूहरुलाई तत्काल नागरिकता र बालबालिकालाई तत्कालै जन्मदर्ता बनाइदिन जोडदार माग गरेका छन् ।

    मुसहर बस्तीमा पुगेका सञ्चारकर्मीलाई त उनीहरु यसपालि मङ्सिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा आफूहरु आफ्ना नागरिकता तथा बालबालिकाको जन्मदर्ता, बस्तीमा खानेपानी, शौचालय, पानी निकास, लालपुर्जा तथा रोजगारीको सुनिश्चित गर्ने तथा ती माग पूरा गर्न अहिले तत्कालै केही कदम चाल्ने उम्मेदवारलाई मात्रै आफूहरु भोट हाल्ने निधोसमेत गरिसकेको बताउँछन् ।

    आफ्ना माग र समस्यालाई बेवास्ता गर्ने तथा आफूहरुलाई पुनः झूठो आश्वासन बाँड्ने वा ठग्न खोजिएमा कुनै पनि दल तथा उम्मेदवारलाई सो बस्तीका मुसहरले मतदान नगरी सम्पूर्ण बस्ती नै यसपालिको निर्वाचन बहिष्कार गर्ने चेतावनी पनि दिएका छन् । अशिक्षित र अबोध व्यक्तिको बाहुल्यता रहेको खैरा गाउँका मुसहर बस्ती सधैंँभरि निर्वाचनको बेला खास भोट बैंकको रुपमा चिनिँदै आएको छ ।

  • ताजा समाचार