राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नुवाकोटमा मतपत्र आइपुग्यो


    • राष्ट्रसेवक
    •    
    • November 6, 2022

  • त्रिशूली, २० कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटलाई आवश्यक पर्ने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र शनिबार आइपुगेको छ । निर्वाचन आयोगले पठाएको मतपत्र जिल्लाको दुईवटै निर्वाचन क्षेत्रमा आइपुगेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जिल्लामा पाँच लाख ३० हजार थान मतपत्र प्राप्त भएको हो । यसअघि समानुपातिकतर्फको पाँच लाख ३८ हजार थान मतपत्र जिल्लामा आइपुगेको थियो ।

    ती मतपत्रमध्ये निर्वाचन क्षेत्रअनुसार निर्वाचन अधिकृतको कार्यालयमा रुजु गरेर ठिक पाइएसँगै भण्डारण गरिएको छ । निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार क्षेत्र नं १ मा एक लाख २० हजार सात सय ५२ मतदाता रहेको स्थानमा प्रतिनिधिसभातर्फको प्रत्यक्ष निर्वाचन प्रणालीका लागि एक लाख ३३ हजार थान मतपत्र प्राप्त भएको छ । यस्तै प्रदेशसभा (१) मा ५९ हजार चार सय ५९ मतदाताका लागि ६६ हजार थान र प्रदेशसभा (२) मा ६१ हजार दुई सय ९३ मतदाताका लागि ६८ हजार थान मतपत्र प्राप्त भएको छ । उक्त मतपत्र रुजु गरेर ठिक पाइएसँगै लाहाछाप लगाएको कोठामा सुरक्षा घेरामा भण्डारण गरिएको छ ।

    यसैगरी निर्वाचन क्षेत्र नं २ मा एक लाख १८ हजार नौ सय ७४ मतदाताका लागि प्रतिनिधिसभातर्फको प्रत्यक्षका लागि एक लाख ३१ हजार थान मतपत्र प्राप्त भएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा ५९ हजार चार सय ५३ मतदाता र प्रदेशसभा (२) मा ५९ हजार पाँच सय २१ मतदाताका लागि समान ६६–६६ हजार थान मतपत्र प्राप्त भएको छ । शनिबार आइपुगेको मतपत्र रुजु गरेर लाहाछाप लगाइएको कोठामा नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएका छन् ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यही कात्तिक १ गते जिल्लामा आएकाले रुजु गरेर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गरिएको छ । जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ६३ र समानुपातिकतर्फ ६४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

  • ताजा समाचार