राष्ट्रसेवक
  • ०७ कात्तिक २०८१
  • सिञ्जामा नमूना मतदान


    • राष्ट्रसेवक
    •    
    • November 11, 2022

  • जुम्ला, २५ कात्तिक । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला निर्वाचन कार्यालयले जिल्लाका दुई स्थानीय तहमा नमूना मतदान कार्यक्रम गरेको छ । यहाँको सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा नमूना मतदान कार्यक्रम गरिएको उक्त कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिनुभयो । सिंजामा ३७ जनाले नमूना मतदान गरेकामा आठ मत बदर भएको कनकासुन्दरीमा ४८ जनाले मतदान गरेकामा १२ मत बदर भएको सूचना अधिकारी अविन्नद चौलागाईँले बताउनुभयो । उक्त मतदानमा ८५ जना सहभागी भएका भएका थिए ।

    नमूना मतदानमा जम्मा २० मत बदर भएका छन् । दुवै स्थानीय तहको बदर भएका मतपत्र केलाएर हेर्दा छाप लगाएर मतपत्र पट्याउन नजानेको, दुई कोठामा छाप लगाएको र दुई चिह्नमा छाप लगाएको देखिएको बताइएको छ । नमूना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ । जिल्लाका सबै वडामा मतदाता शिक्षा सञ्चालन भएको र नमूना मतदानबाट पनि मतदानका विषयमा जानकारी दिने लक्ष्य लिइएको उक्त कार्यालयका प्रमुख शर्माले जानकारी दिनुभयो । जिल्लाभर कुल एक सय छ मतदान केन्द्र, ८३ वटा मतदानस्थल र दुई अस्थायी मतदानस्थल कायम गरिएको छ ।

    जिल्लामा कुल ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेशसभा निर्वाचन (१) मा ३६ हजार सात सय ८३ र प्रदेशसभा (२) मा ३१ हजार आठ सय ५५ मतदाता रहेको कार्यालयले जनाएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभासदस्यका लागि निर्वाचन हुँदै छ ।

  • ताजा समाचार