राष्ट्रसेवक
  • १२ साउन २०८१
  • भोट माग्दै मतदाता शिक्षा दिँदै उम्मेदवार


    • राष्ट्रसेवक
    •    
    • November 14, 2022

  • भरतपुर, २८ कात्तिक । चितवन क्षेत्र नम्बर १ (१) का प्रदेशसभा सदस्यका एक उम्मेदवारले आइतबार खैरहनी नगरपालिका–३ मा आयोजित कोणसभामा मतदातालाई भोट हाल्ने तरिकाबारे सिकाउँदै हुनुहुन्थ्यो । उहाँले आफूलाई मत मागिसके पछि मतदान गर्ने तरिकाबारे सिकाउन थाल्नुभयो । “तपाईले हामीलाई भोट हाल्छु भनेर मात्र हुँँदैन, सही तरिकारले मतदान गर्न पनि जान्नुपर्छ, उहाँले भन्नुभयो”, बदर भयो भने आफ्नो अमूल्य मत खेर जान्छ ।”

    निर्वाचनमा चारवटा छुट्टाछुट्टै मतपत्र उपलब्ध हुने जनाउँदै उहाँले त्यसमा आफूले मतदान गर्ने चिह्नमा स्वस्तिक छाप लगाएर त्यसलाई राम्रोसँग पट्याएर छुट्टाछुट्टै मत पेटिकामा खसाउनुपर्छ भनेर मतदातालाई सिकाउनुभयो । “चारवाट भोट हाल्ने भनेर एउटै मतपत्रको एउटै चिन्हमा चारपटक स्वस्तिक छाप लगाउने होइन, त्यसले मत बदर हुन्छ, ध्यान पु¥याउनुहोला”,उहाँले भन्नुभयो ।” उहाँले वडा तहमा पार्टीका कार्याकर्ताले पनि मतदाता शिक्षा दिइरहेको जनाउँदै ध्यान दिएर मतदाता शिक्षा लिन अनुरोध गर्नुभयो ।

    चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि सम्भव भएसम्म घरदैलोका क्रममा आयोजना हुने कोणसभामा मतदातालाई भोट हाल्ने तरिकाबारे जानकारी दिनुहुन्छ । उहाँले मत बदर हुँदा एक भोटले पनि निर्वाचन हारजित हुनसक्ने जनाउँदै बुझेर मात्रै मतदान गर्न अनुरोध गर्नुभयो ।उहाँले मतदान गर्न सिकाउने र बदर मत कम गर्न मतदाता शिक्षाले सहयोग पु¥याउने बताउनुभयो ।

    चितवन क्षेत्र नम्र २ (२) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्नुभएका अर्का उम्मेदवार भोट हाल्दा मतदाता झुक्किन सक्ने जनाउँदै घरदैलोका क्रममा मतदाता शिक्षा दिइरहेको बताउनुहुन्छ । उहाँले अधिकांश मतदाता यसबारे जानकार रहेको जनाउँदै घरदैलोका क्रममा थोरै समय हुने भएका कारण सबैलाई बुझाउन नसकिएको बताउनुभयो । घरदैलोका क्रममा मतदातालाई नमूना मतपत्रसमेत वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    चितवन ३ बाट स्वतन्त्र उम्मेदवार आफुले घरदैलोका क्रममा प्रत्येक मतदातालाई भोट हाल्न सिकाएको बताउनुहुन्छ । पाएको चिह्नमा मतदाता झन धेरै झुक्किनसक्ने भएकाले पनि आफूहरुले चिह्न र मत हाल्ने तरिकाबारे जानकारी दिनेगरेको बताउनुभयो । चितवनका राजनीतिक दलहरुले पनि आफ्नै तरिकाबाट मतदाता शिक्षा दिइरहेका छन् । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले निर्वाचनको प्रचारप्रसारसँगै कार्यकर्तालाई मतदाता शिक्षाका लागि जनताको घरदैलोमा पठाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका लागि मतदाता शिक्षाका लागि कार्यकर्ता गाँउगाँउमा खटाएका छौँ, टोलटोलमा यो अभियान सञ्चालन भइरहेको छ ।”

    पार्टीका कार्यकर्ता परिचालन गरेर मतदाता शिक्षा दिइरहेको नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने बताउनुहुन्छ । उहाँले कसरी मतदान गर्ने र आफ्नो मत कसरी सुरक्षित गर्ने भन्नेबार वडा तहमा नै मतदाता शिक्षा दिइरहेको बताउनुभयो । उहाँले टोलटोलमा कार्यकर्तालाई नमूना मतपत्र पठाइसकेको जानकारी दिनुभयो ।

    नेकपा (माओवादी केन्द्र) चितवनका संयोजक रामचन्द्र अधिकारीले गठबन्धन दलले मतदाता शिक्षालाई वडावडामा दुई÷दुई जना प्रतिनिधिका रुपमा खटाएको बताउनुभयो । बदर मतको सङ्ख्या कम गर्नका लागि वाम–लोकतान्त्रिक गठबन्धनका सबै दलले आफ्नै कार्यकर्तालाई परिचालन गरेको उहाँको भनाइ छ । गठबन्धन दलले मतदाता शिक्षाका लागि कार्यकर्तालाई टोल–टोलमा नमूना मतपत्रसहित पठाएको उहाँले जानकारी दिनुभयो । दलका नेता कार्यकर्ताले प्रचारप्रसारसँगै मतदाता शिक्षासमेत सिकाउने गरेको उहाँले बताउनुभयो । अहिले युवा, विद्यार्थी र सामाजिक सञ्जालबाट समते मतदाता शिक्षा दिइरहेको उहाँले जानकारी दिनुभयो ।

    राजनीतिक दलसँगै निर्वाचन आयोगले पनि विभिन्न माध्यमबाट मतदाता शिक्षा दिइरहेको छ । निर्वाचनका लागि जिल्लामा पाँच हजार पाँच सय १८ कर्मचारी तथा स्वयंसेविका खटिएका छन् । हरेक केन्द्रमा मतदान अधिकृतसहित आठ कर्मचारी आयोगले खटाएको छ भने तीनदेखि चार जना स्वयंसेवी कर्मचारी मतदान अधिकृतले नियुक्ति गरेका छन् । पाँच सयभन्दा कम मतदाता भएको केन्द्रमा ११ र सोभन्दा बढी मतदाता भएको केन्द्रमा १२ जनाका दरले कर्मचारी खटाइएको निर्वाचन कार्यालयले जनाएको छ ।

    जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता छन् । तीमध्ये महिला दुई लाख नौ हजार तीन सय नौ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन् । एक सय ६१ मतदानस्थलमा रहेका चार सय ६० मतदान केन्द्रबाट उनीहरुले मतदान गर्ने छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ३९ हजार आठ सय ४५ मतदान रहेका छन् भने क्षेत्र नं २ मा एक लाख २४ हजार दुई सय १४ र ३ मा एक लाख ४४ हजार दुई सय ८३ जना छन् । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा ६६ हजार १५ र प्रदेशसभा २ मा ७३ हजार आठ सय ३० जना मतदान रहेका छन् ।

    त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (१) मा ६१ हजार नौ सय ७३ र प्रदेशसभा (२) मा ६२ हजार दुई सय ४२ मतदाता छन् । साथै, निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा १ मा ७८ हजार दुई सय ८६ र प्रदेशसभा २ मा ६५ हजार नौ सय ९६ जना मतदान छन् । निर्वाचन प्रचारप्रसार गर्न अव चार दिन बाँकी छ । चितवनका राजनीतिक दल र उम्मेदवार मतदातालाई आफ्नो पक्षमा पार्ने अन्तिम कसरतमा लागेका छन् ।

  • ताजा समाचार