राष्ट्रसेवक
  • १२ साउन २०८१
  • स्वास्थ्य एकाइ स्थापना गर्न रु ३५ लाख संकलन


    • राष्ट्रसेवक
    •    
    • December 13, 2022

  • म्याग्दी, २७ मङ्सिर । म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न रु ३५ लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ । यसका लागि यही मङ्सिर १५ देखि २२ गतेसम्म श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गरिएको थियो । महायज्ञ आयोजक समितिका प्रचार–प्रसार संयोजक खगेन्द्र खत्रीले सोमबार आम्दानी विवरण सार्वजनिक गर्नुभएको हो ।

    “रु ३५ लाख ५९ हजार छ सय सहयोग घोषणा भएको छ”, उहाँले भन्नुभयो, “घोषणा भएको मध्ये रु ३१ लाख नगद प्राप्त भइसक्यो ।” ४४ मुरी धान र छ मुरी जौँ सङ्कलन भएको छ । सामान्य बिरामी हुँदा आधारभूत स्वास्थ्य सेवा लिनसमेत घण्टौँ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले आफैँ लगानी जुटाउन पूर्णगाउँको शिवालय र लक्ष्मीनारायण मन्दिर परिसरमा महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञमा देवराज सुवेदीले कथावाचन गर्नुभएको थियो ।

    महायज्ञका कार्यालय सचिव नीलकण्ठ सुवेदीले यज्ञबाट सङ्कलन भएको ३० प्रतिशत रकम शिवालय मन्दिर सञ्चालनका लागि कोष खडा गर्ने र ७० प्रतिशत रकमलाई सामुदायिक स्वास्थ्य एकाइ स्थापनार्थ परिचालन गरिने जानकारी दिनुभयो ।

    पूर्णगाउँमा दुई सयभन्दा बढी घरधुरीको बसोबास छ । यो वडाको स्वास्थ्यचौकी कुहुँमा छ । पूर्णगाउँबाट कुहुँ पुग्न एक घण्टा पैदलयात्रा गर्नुपर्छ । स्वास्थ्य संस्था टाढा हुँदा औषधोपचारमा समस्या भएकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गर्न लागिएको महायज्ञ आयोजक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले बताउनुभयो ।

  • ताजा समाचार