राष्ट्रसेवक
  • १२ साउन २०८१
  • मधेस प्रदेशः अझै सत्ता समीकरण स्पष्ट भएन


    • राष्ट्रसेवक
    •    
    • December 20, 2022

  • जनकपुरधाम, ५ पुस । सङ्घमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण यही पुस ७ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदा मधेस प्रदेशमा भने सत्ता समीकरण प्रष्ट भएको छैन ।

    यसका लागि यहाँका राजनीतिक दलहरूले संसदीय गतिविधिका लागि खासै चासो नराखेका कारण हालसम्म उत्साह बढ्न नसकेको हो । यसले प्रदेशसभा सचिवालयसमेत सर्वदलीय बैठक र नवनिर्वाचित प्रदेशसभा सदस्यलाई शपथग्रहण गराउने कार्यक्रम तय गर्न अन्योलमा छ ।

    मधेस प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेतृत्वसँग अनौपचारिक कुराकानी भइरहे पनि हालसम्म ठोस योजना बनिनसकेको बताउनुभयो । अर्को हप्तासम्म सर्वदलीय बैठक बोलाउने तयारी गरे पनि दलहरूबाट प्रष्ट सङ्केत नआएकाले निष्कर्षमा पुग्न नसकेको उहाँले जानकारी दिनुभयो ।

    “उहाँहरू (दलहरू) केन्द्रीय सत्ता समीकरणको पर्खाइमा हुनुहुन्छ होला । हामीलाई पनि पार्टीहरूको संसदीय दल र नेतृत्व चयन भएको भए सल्लाह गर्न सजिलो हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर पनि शपथग्रहण र प्रदेशसभा बैठकका लागि संसद् सचिवालय तयारी अवस्थामा छ । सर्वदलीय बैठकपछि कार्यक्रम तय गर्छौँ ।”

    पुस २१ भित्रै गरिसक्नुपर्नेछ शपथग्रहण र प्रदेशसभा बैठक

    नेपालको संविधानको धारा १७९ अनुसार प्रदेसभाका सदस्यहरूले प्रदेशसभा बैठकमा पहिलोपटक भाग लिनुअघि प्रदेश कानुनबमोजिम शपथ लिनु पर्नेछ । त्यसैगरी संविधानको धारा १८३ (१) मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरिसकेकाले आगामी पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नुपर्नेछ भने त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्नेछ ।

    प्रदेशसभा सचिवालयका सचिव यादवले संवैधानिक व्यवस्थानुसार आगामी पुस २१ गतेभित्र प्रदेशसभा बैठक बस्नैपर्ने भएकाले त्यही आधारमा प्रदेशसभा बैठकको व्यवस्थापन गरिने स्पष्ट पार्नुभयो । बीस दिनभित्र बैठक बस्ने र त्योभन्दा अघि शपथग्रहण गरिसक्नुपर्ने प्रावधान भए पनि प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्षको बन्ने प्रष्ट नभएकाले अहिले नै प्रदेशसभा बैठक व्यवस्थापनमा अन्योल रहेको बताउनुभयो । “बैठक बस्नुअघि नै नयाँ सरकार बनेमा सोहीअनुसार व्यवस्थापन गर्छौँ”, यादवले भन्नुभयो, “त्यसो नभए पनि सर्वदलीय बैठकको निर्णयबमोजिम अगाडि बढ्छौँ ।”

    संविधानको धारा १६८ (३) मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र प्रदेश सरकार बनाउनुपर्ने प्रावधान छ । यसअनुसार आगामी पुस ३१ गतेभित्र सरकार बनाइसक्नु पर्नेछ ।

  • ताजा समाचार