राष्ट्रसेवक
  • ३० भदौ २०८१
  • लमहीको जैविक विविधता पार्कमा अवलोकनकर्ता बढे


    • राष्ट्रसेवक
    •    
    • December 24, 2022

  • भालुवाङ, ९ पुस । लमहीको जैविक विविधता पार्क अवलोकनका लागि सर्वसाधारणको भीड बढ्दै गएको छ । देउखुरी क्षेत्रका तालतलैया, वनभोजस्थल, दृश्यावलोकन केन्द्रले पर्यटकलाई आकर्षित गरेको बेला लमहीको अजम्मरी सामुदायिक वन क्षेत्रभित्र पर्ने जैविक विविधता पार्क अर्को पर्यटकीय गन्तव्य बन्दै गएको छ । लमही नगरपालिका–५ अन्तर्गत पर्ने यो पार्क पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि उत्तरतर्फ अवस्थित छ । पार्कभित्र पस्नासाथ विभिन्न प्रजातिका चराचुरुङ्गीको चिरविर चिरविर आवाजले मनै फुरुङ्ग पारिदिन्छ । एकाबिहानै पार्कमा हिँड्नेको लर्को भेट्न सकिन्छ ।

    पार्कमा ‘मिनिपार्क’ र ‘ग्रिनपार्क’ ले झनै त्यहाँको शोभा बढाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर उक्त पार्कको निर्माण कार्य अगाडि बढाइएको अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन रिजालले बताउनुभयो । वन क्षेत्रलाई पर्यटनसँग जोड्ने उद्देश्यले बनेको यहाँ सबैको ध्यान तान्ने प्रकारका संरचनासमेत निर्माण भएका छन् । सामुदायिक वनले ३० बिघा क्षेत्रफललाई आफ्नो कार्ययोजनाअनुसार जैविक विविधता पार्क निर्माण गरेको अध्यक्ष रिजालले जानकारी दिनुभयो ।

    “पार्क व्यवस्थित बनाउनअझै थुप्रै काम रहेको छ । मेरो पदावधिभित्रै काम सक्ने लक्ष्य लिएको छु, कतिसम्म पूरा हुन्छ”, रिजालले भन्नुभयो । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर सामुदायिक वनको आयस्रोत बलियो बनाउने पनि समितिको उद्देश्य हो । आर्थिक वर्ष २०७५÷०७६ मा त्यस पार्कमा करिब २० हजार पर्यटकले भ्रमण गरेको तथ्याङ्क सामुदायिक वन कार्यालयसँग छ ।

    आगन्तुक पर्यटक मनमोहक दृश्य हेर्न र हरियालीमा रमाउन पाउँदा खुसी भएको प्रतिक्रिया दिन्छन् । भारतको लागि कोइलावास नाका मुख्य प्रवेशद्वार हो । जसलाई राप्तीको प्रवेशद्वारा मानिन्छ । यो पार्क व्यवस्थित गर्नसके भारतीय पर्यटकलाई आकर्षित गर्न सकिन्छ । भारतमा विष्णु र शिव भगवान् मान्नेको ठूलो समुदाय छ । तिनलाई राप्तीको प्रवेशद्वार कोइलावास नाका हँुदै नेपालको विभिन्न धार्मिकस्थलमा ल्याउन सकिने र यस क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा हेर्न थालिएको स्थानीय किशोर गुप्ताले बताउनुभयो ।

  • ताजा समाचार