राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ठमेलमा क्रिसमसको रौनक


    • राष्ट्रसेवक
    •    
    • December 24, 2022

  • काठमाडौँ, ९ पुस । इसाई धर्माबलम्बीहरूको पर्व ‘क्रिसमस डे’को पूर्वसन्ध्यामा पर्यटकीय गन्तव्य ठमेलमा रौनक छाएको छ । इसाई धर्मावलम्बीले खुसीयाली, उपहार र शुभकामना साटासाट गरी मनाउने यो पर्वको पूर्वसन्ध्यामा आज साँझ काठमाडौँको ठमेलमा रौनक छाएको हो । इसाई धर्माबलम्बीले जिसस क्राइस्ट जन्मिएको दिनलाई ‘क्रिसमस डे’का रूपमा मनाउने गर्दछन् ।

    डिसेम्बर २५ तारिखमा पर्ने इसाई धर्मावलम्बीको प्रमुख चाड क्रिसमस मनाउन अघिल्लो दिन राति ‘क्रिसमस इभ’ मनाउने चलन छ । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले क्रिसमसको अवसरमा ठमेल क्षेत्रमा भीडभाड बढेको बताउनुभयो ।

    “क्रिसमस डेमा हुने भीडभाडलाई मध्यनजर गरी ठमेलभित्र छिर्ने सवारीसाधनलाई आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्मका लागि बन्द गरेका छौँ”, उहाँले भन्नुभयो ।

    क्रिसमसको अवसरमा ठमेल क्षेत्रका होटल ७० प्रतिशतभन्दा बढी भरिएको उपाध्यक्ष धमलाको भनाइ छ । यस्तै आज राति सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ । ठमेलमा विदेशी तथा क्रिश्चियन धर्मावलम्बीको भीडभन्दा पनि नेपाली युवायुवतीको भीड बढी भएको धमलाले बताउनुभयो ।

    क्रिसमस आउन सुरु हुनुभन्दा एक हप्ता पहिलेदेखि नै होटल तथा सपिङ सेन्टरमा ‘क्रिसमस ट्री’ सजाएर राखिएको छ । काठमाडौँका ठमेलबाहेक दरबारमार्ग, पुतलीसडक, झम्सिखेल, लाजिम्पाट, नक्साल, बानेश्वरआदि स्थानका होटल, सपिङ मल तथा रेस्टुराँमा क्रिसमस इभलक्षित विभिन्न कार्यक्रमसमेत आयोजना गरिएका छन् ।

    डिसेम्बर २५ लाई जिसस क्राइस्टको जन्मदिन मानिन्छ । यही दिन क्रिसमस मनाइन्छ । सन् ३५० देखि यो चाड मनाउन सुरु भएको पाइन्छ ।

  • ताजा समाचार