राष्ट्रसेवक
  • ०४ साउन २०८१
  • नेपालमा गैँडा संरक्षणको विभिन्न उद्देश्यका साथ अन्तर्राष्ट्रिय सम्मेलन हुने


    • राष्ट्रसेवक
    •    
    • December 28, 2022

  • काठमाडौँ,१३ पुस ।नेपालमा गैँडा संरक्षणको विभिन्न उद्देश्यका साथ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘एसिया राईनो रेन्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको सम्मेलन आगामी माघ २० देखि २२ गते (फेब्रुअरी ३ देखि ५ तारिख) सम्म चितवनमा हुनेछ । सम्मेलनमा एसियामा गैँडा पाइने देश नेपाल, भारत भूटान, मलेसिया र इण्डोनेसियाका सम्बन्धित सरकारी प्रतिनिधि, गैँडा संरक्षणमा काम गर्ने साझेदार संस्थाहरू, सरोकारवाला विशेषज्ञ समूहलगायतको सहभागिता रहनेछ । यस्तो सम्मेलन यसअघि पहिलो पटक इण्डोनेसियमा र त्यसपछि भारतमा भइसकेको छ ।

    गैँडा संरक्षणमा देखिएका समस्याहरू, गैँडाको बासस्थानको क्षयीकरण, खण्डीकरण र विनाश, चोरी शिकार र अङ्गको अवैध व्यापार, जलवायुजन्य जोखिमको समाधान, गैँडाको जलवायु अनुकूलन गर्ने क्षमतालगायत विषयमा सम्मेलनमा छलफल हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जानकारी दिएको छ।

    सम्मेलनमा गैँडा संरक्षणका लागि प्रविधिको प्रवर्द्धन, गैँडाको बासस्थानलाई सुरक्षित गर्ने, द्वन्द्व व्यवस्थापन गर्ने, जलवायु उत्थानशीलता बढाउने विषय र जनचेतना बढाई स्थानीय र राष्ट्रिय समृद्धिमा टेवा पुर्याउने उद्देश्य राखिएको छ । यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको जैविक विविधताको पहिचानलाई अझ उच्च र चम्किलो बनाउने उद्देश्य रहेको डा.ढकालले बताएका छन् ।

    सम्मेलनको उद्घाटन वन तथा वातावरण मन्त्रीबाट उद्घाटन गर्ने गरी तयारी गरिएको छ । उद्‍घाटनपछि प्राविधिक सत्रमा सम्बन्धित देशका गैँडाको अवस्थासम्बन्धी कार्यपत्र प्रस्तुत गरिनेछन् । केही विज्ञले कार्यपत्र प्रस्तुत गर्ने र त्यसपछि अहिलेसम्मको समीक्षा गरी आगामी दिनमा गर्नुपर्ने रणनीतिका बारेमा छलफल गरिने विभागका इकोलोजिष्ट डा.गणेश पन्तले जानकारी दिएका हुन् ।

    त्यसपछि सम्मेलनमा चितवन घोषणापत्र सार्वजनिक गरिनेछ । सम्मेलन गैँडा संरक्षणको वर्तमान अवस्था, चुनौती र भावी व्यवस्थापन गर्ने लगायतका विषयमा केन्द्रित हुनेछ भने सम्बन्धित देशका सरकारी प्रतिनिधि र विज्ञसहित १०० भन्दा बढीको सहभागिता रहने डा.पन्तले बताएका छन् ।

  • ताजा समाचार