राष्ट्रसेवक
  • १३ जेठ २०८१
  • संरक्षण अभावमा देउराली, मि चाँदी र सुनारी कुङ गुफा


    • राष्ट्रसेवक
    •    
    • January 5, 2023

  • रुकुम (पूर्व), २१ पुस ।  रुकुम (पूर्व) को सदरमुकाम रुकुमकोटबाट पूर्वी क्षेत्र लुकुमगाड खोलाको तिरैमा जिल्लाकै प्रमुख पर्यटकीयस्थलमध्येको देउराली गुफा छ । गुफाभित्रका कलाकृति तोडफोड भएको पाइन्छ । केही वर्ष अगाडिसम्म ढुङ्गामा कुँदिएका मूर्तिले सजिएको देउराली गुफा हेरेर सबै मोहित हुन्थे । भनिन्छ, पहिले गुफा दुई तलाको थियो । अहिले एक तला बन्द भइसकेको छ । गुफाभित्र जताततै घँुडासम्म डुबाउने पानी छ । माथिबाट तपतप पानी चुहिरहन्छ ।

    गुफामा चमेरा पाइन्छ । बत्ती लिएर भित्र पस्दा पानीले भिजाउँछ । गुफामा चैतेदशैँ र नयाँ वर्षमा मेला लाग्छ । आन्तरिक पर्यटकको आकर्षण बढेको यसको उचित संरक्षण तथा व्यवस्थापन नहुँदा समस्या हुने गरेको छ । गुफा अगाडि मेला लाग्दा भिरमा भएपनि कोचिएर सय जनासम्म अटाउँछन् ।

    “पहिले गुफाभित्र विभिन्न आकृतिका मूर्ति थिए”, रुमालबाराकी सीता मल्लले भन्नुभयो, “पञ्चेबाजा, वाद्यवादनका सामग्री, सानो बच्चालाई दूध चुसाउँदै जातो घुमाइरहेको, ढिकी कुट्दै गरेको, भालुको मुख, हात्ती, विभिन्न देवीदेवताका मूर्ति तथा पत्थरबाट बनेका मालालगायत अनौठा खालका भित्तामा टाँसिएका थुप्रै मूर्ति थिए । अहिले ती मूर्ति देखिँदैनन्, टुटेफुटेका निशाना मात्र देखिन्छन् ।”

    सिस्ने गाउँपालिका–५ का सूर्यबहादुर नेपालीका अनुसार ५५ वर्ष अगाडि देउराली गुफाबाट छिरेर भित्रभित्रै पाँच किलोमिटर पर बागदुला र तीन किलोमिटर पर खानीदुलाबाट बाहिर निस्कने ठाउँ थियो । देउराली गुफाभित्रबाट धेरै परसम्म जाने ठाउँ देखेपछि परीक्षणका लागि चमेरा छोपेर त्यसलाई रङ घसेर देउराली गुफामा राखिदिएको र चमेरा खानीदुलाबाट बाहिर निस्किएको थियो । उहाँले भन्नुभयो, “आजकल खानीदुला र बागदुलाको स्थिति के छ, कसैलाई थाहै छैन ।”

    संरक्षण र प्रचारप्रचारको अभावले देउराली गुफा ओझेलमा पर्दै गएको सिस्ने गाउँपालिका–५ का जयबहादुर मल्लले बताउनुभयो । विसं २०६५-६६ मा गुफा संरक्षणलाई गाविसबाट रु २५ हजार र दोस्रो पटक रु ५० हजार छुट्याइएको थियो । त्यो रकमले गुफा वरिपरिको झाडी हटाई पिल्लर उठाएर एउटा ढोका निर्माण गरिएको मल्लले बताउनुभयो । त्यसपछि गाउँपालिका र प्रदेश सरकारले रु २० लाख लगानी गरेको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो ।

    उक्त बजेटबाट गुफा जाने गारेटो बाटो निर्माण गरिएको छ । गुफाभित्र एउटा सिद्धबाबाको मूर्ति राखिएको छ । बाहिरपट्टिको आँगन प्लास्टर गरिएको छ । बाटोमा रेलिङ हालिएको गाउँपालिका अध्यक्ष रेग्मीले जानकारी दिनुभभयो । अहिलेभने गुफा संरक्षणको लागि बजेट नभएको उहाँको भनाइ छ ।

    “देउराली गुफा संरक्षणलाई सानो योजना र गाउँपालिकाको सीमित बजेटले पुग्दैन”, अध्यक्ष रेग्मीले भन्नुभयो, “अहिले एक समूहले प्राकृतिकरुपमा रहेको गुफालाई यस्तै राख्नुपर्छ भन्ने सुझाव दिएका छन् । एक समूहले गुफाभित्र खुला ठाउँ रहेकाले भित्र रेलिङ हाल्नुपर्ने सुझाव दिइरहेका छन् ।” छलफलबाट गुफा संरक्षणको कार्ययोजना बनाउने र सोहीअनुसार पालिका, प्रदेश र सङ्घ सरकारसँग बजेटको माग गर्ने उहाँको भनाइ छ ।

    यस्तै २०७६ सालमा पत्ता लागेका रुकुम (पूर्व) का तीन ठूला गुफाको संरक्षण तथा व्यवस्थापनमा कसैको चासो नदेखिएको स्थानीयको गुनासो छ । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका १२ कोलमा सुन, चाँदीसहितका मानव बस्तीझै देखिने तीन ठूला गुफा पत्ता लागेका थिए । गुफा भेटिएपछि त्यहाँका स्थानीय सबै मिलेर ती गुफाको मगर खाम भाषाबाट नामकरण गरे । एउटा गुफाको नाम ‘मि कुङ’ भनियो । मगर भाषामा मि को अर्थ मान्छे र कुङको अर्थ ओढार वा गुफा बुझिन्छ ।

    यो गुफाभित्र ५० जना अटाउन सक्ने ठाउँ छ । गुफामा केराको घरीका जस्ता आकृति र चमेरा छन् । गुफामा मनै लोभ्याउने खालका कलाकृति देख्न सकिने पुथा उत्तरगङ्गा गाउँपालिकाका गङ्गाबहादुर पुनले बताउनुभयो ।

    उहाँका अनुसार जमिन सतहबाट २५ मिटरभित्र पसेपछि गुफा भेटिन्छ । उहाँले भन्नुभयो, “योभन्दा अगाडि मैले पोखरा र रुकुमकोटलगायतका ठाउँमा रहेका गुफा हेरेको छु, तर कोलमा भेटिएका यी गुफा ती गुफाभन्दा निकै ठूला आकर्षक र अनौठा लाग्छन् ।” गुफामा खुट्टा डुबाउने खालको पानी छ ।

    त्यसैगरी नजिकै ‘सुनरी कुङ’ अर्थात् सुनपानी नामकरण गरिएको गुफा छ । गुफामा सुनको जस्तै रङमा विभिन्न आकृति भेटिएका छन् । जुन गुफामा भित्र प्रवेश गरेपछि सुनैको महलमा छिरेझै आभास हुन्छ । जता हेरे पनि सुनजस्तै पहेँला चम्किने बिरुवाको पातको आकृतिले मनै लोभ्याइदिन्छ । अर्को गुफाको नाम ‘चाँदी कुङ’ नामकरण गरिएको थियो । जहा चाँदीको जस्तो रङमा कुदिएका अकृति तथा गुफा नै चाँदीको रङमा देख्न सकिने पुनले बताउनुभयो । चाँदी कुङबाट निस्केको पानी अहिले एउटा सानो झरना बनेर उत्तरगङ्गामा मिसिएको छ ।

    कोल गाउँभन्दा तलतिर गुफा रहेका छन् । ती गुफामा पुग्न धेरै वर्ष पहिले गाउँभन्दा माथिबाटै सुरुङमार्ग रहेको कोलका भुपू प्रधानपञ्च ६९ वर्षीय गनबहादुर पुनले बताउनुभयो । त्यस्तै अर्को ‘निम कुङ’ नाम गरेको गुफा छ । निमको अर्थ मगर खाम भाषामा भालु हो । यस गुफामा भालु लुक्ने भएकाले निम कुङ नाम राखिएको स्थानीयवासी हिक्मत प्रतेलले बताउनुभयो । यो गुफामा पनि उज्यालोको सहायताले २५ मिटरभित्र जान सकिन्छ ।

    अहिले यी गुफामा पुग्न बाटो सहज छैन । बाहिरबाट आएका जो कोहीले सजिलै गुफा पत्ता लगाउन सक्दैनन् । थाहा पाएका स्थानीयवासीसँगको सहकार्यमा गुफा पुग्न सकिने स्थानीय बताउँछन् । यो गुफा संरक्षण तथा व्यवस्थापनलाई तत्काल स्थानीय सरकारबाट बजेट विनियोजन नगरेको पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले बताउनुभयो । गुफा संरक्षण तथा व्यवस्थापनको लागि बृहत् योजना निर्माण गर्न आवश्यक रहेको भन्दै आगामी दिनमा छलफल गरी गुफा संरक्षणको लागि योजना बनाउने अध्यक्ष घर्तीले बताउनुभएको छ ।

  • ताजा समाचार