राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ‘अनुप स्मृति गोल्डकप’को फाइनलमा नेर्पा र दिक्तेल


    • राष्ट्रसेवक
    •    
    • January 6, 2023

  • खोटाङ, २२ पुस । दिक्तेलमा जारी ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’को तेस्रो संस्करणको फाइनलमा नेर्पा स्पोर्टस क्लब नेर्पा र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) प्रवेश गरेका छन् ।

    दिक्तेलस्थित माटिकोरे खेलमैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा चियाबारी फुटबल क्लब इलामलाई हराउँदै नेर्पा र मानेभञ्ज्याङ स्पोर्टस क्लब ओखलढुङ्गालाई हराउँदै डिएफसी फाइनलमा पुगेका हुन् ।

    नेर्पा इलामलाई दुईका विरुद्ध छ गोल गर्दै फाइनल पुगेको हो भने डिएफसीले ओखलढुङ्गालाई पेनाल्टी सुटआउटमा हराएको हो । सेमिफाइनमा सीमित इलाम र ओखलढुङ्गाले नगद रु २५–२५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    नेर्पाका तर्फबाट साइमन लिम्बूले दुई गोल, सुदीप श्रेष्ठले एक गोल, बिकी राईले दुई गोल र बिजु भुजेलले एक गोल गरेका थिए । इलामको तर्फबाट खेलको १४ र ३५औँ मिनेटमा सञ्जय रम्तेलले दुई गोल गरेका थिए ।

    अर्को सेमिफाइनल खेलको निर्धारित समयमा डिएफसीका मनिष लिम्बूले खेलको १५औँ मिनेट र ओखलढुङ्गाका मनकृष्ण राईले १८ औँ मिनेटमा एक–एक गोल गरेपछि अतिरिक्त समय थपिएको थियो । थपिएको अतिरिक्त समयमा दुवैतर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

    पेनाल्टीमा पाँचका विरुद्ध छ गोल गर्दै डिएफसीले फाइनलको यात्रा तय गरेको आयोजकले जनाएको छ । गोल्डकपको तेस्रो संस्करणमा खोटाङसहित विभिन्न जिल्लाका १० टिम सहभागी भएका छन् ।

    नेर्पा र डिएफसीबीचको फाइनल खेल शनिबार बिहान ११ बजेबाट सुरु हुने खेल संयोजक युधिर शाक्यले जानकारी दिनुभएको छ । नेर्पा अनुप स्मृति गोल्डकपको दोस्रो संस्करणको विजेता टोली हो ।

    माउण्ट एभरेष्ट इङ्गलिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए)को सहआयोजनामा भइरहेको गोल्डकपका विजेताले नगद रु दुई लाख ५१ हजारका साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मूल आयोजक समितिका संयोजक सागर जोशीले जानकारी दिनुभएको छ । प्रतियोगिताका उपविजेताले नगद रु एक लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट टिम प्रशिक्षकले नगद रु पाँच हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अनुशासित टिमले नगद रु पाँच हजार पाँच सय ५५ का साथमा ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

    प्लेयर अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्ताले जनही नगद रु सात हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    माउण्ट एभरेष्ट इङ्गलिस बोर्डिङ स्कुलको नर्सरीमा अध्ययनरत अनुप राईको विसं २०६८ जेठ २ गते दिक्तेलस्थित पुरानो बैंकचोक नजिक सवारी दुर्घटनामा ज्यान गएको थियो । उनै विद्यार्थीको सम्झनामा स्कुलले प्रत्येक वर्ष अनुप स्मृति गोल्डकप गर्दै आएको हो ।

    प्रथम संस्करणमा रु एक लाख ११ हजार एक सय ११ र दोस्रो संस्करणमा रु एक लाख ५१ हजार एक सय ११ पुरस्कार राशि राखिएको थियो ।

  • ताजा समाचार