राष्ट्रसेवक
  • १२ साउन २०८१
  • पर्वत प्रशासन कार्यालयमा स्तनपानकक्ष


    • राष्ट्रसेवक
    •    
    • January 22, 2023

  • पर्वत, ८ माघ । जिल्ला प्रशासन कार्यालय पर्वतले सेवाग्राहीको समस्या र आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपानकक्ष निर्माण गरेको छ ।

    पछिल्लो समय लैङ्गिक विषयका मुद्दा महत्वका साथ उठिरहेको बेला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो । उहाँका अनुसार सेवा प्रवाहलाई महिलामैत्री बनाउनका लागि यस्तो व्यवस्था गरिएको हो । बिहीबारदेखि स्तनपानकक्ष सञ्चालनमा ल्याइएको छ । दुधे बालकसहित सेवाग्राहीका रूपमा आउनुभएकी फलेवास नगरपालिका–१ कार्किनेटाकी कुमारी केसीलाई स्तनपानकक्षमा लगी स्तनपान गर्न लगाएर उक्त कक्षको शुभारम्भ गरिएको हो । सो अवसरमा आमा र बच्चालाई खादा ओढाएर सम्मान गरिएको थियो ।

    जिल्ला प्रशासनमा सुरुआतसँगै जिल्लाका सबै सरकारी कार्यालयमा सेवाग्राहीका लागि स्तनपानकक्ष, खानेपानीको व्यवस्थालगायत सेवाग्राहीमैत्री वातावरण बनाउन प्रजिअ सापकोटाले कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयवाट स्तनपानकक्षको व्यवस्थापनका लागि रु दुई लाख प्राप्त भएकाले सोही रकमले व्यवस्थापन गरिएको हो । पछिल्लो समय कार्यालयमा सेवा लिन आउने महिलाको सङ्ख्या बढ्दै जाने र कार्यालयभित्र काम हुँदाहुँदै केही समय कुर्नुपर्ने अवस्थामा सहजरूपमा आफ्ना बालबालिकाको हेरचाह गर्न सकुन् र सुरक्षित स्थानमा स्तनपान गराउन सकुन् भन्ने उद्देश्यले स्तनपानकक्ष सञ्चालनमा ल्याइएको प्रजिअ सापकोटाले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “कार्यालयमा काम लिएर आउने कतिपय महिलासँगै स्तनपान गर्ने बच्चासमेत आउँछन्, सार्वजनिक स्थानमा लाजका कारण उनीहरूले दूध नखुवाउने गरेका कारण, बच्चाहरू समस्यामा पर्ने, रुने कराउने हुन्छ त्यसैले स्तनपानकक्ष बनाएका हाँै ।”

    यसअघि विसं २०७४ मा गण्डकी प्रदेश सरकारअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालयको झण्डै रु नौ लाख लागतमा भवन निर्माण गरी स्तनपानकक्ष बनाइएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले स्तनपानकक्षा बनाएर सेवा सुरु गरे पनि पछिल्लो समय प्रभावकारी हुनसकेको थिएन ।

    कार्यालयले ज्येष्ठ नागरिक, फरक क्षमता भएकाका लागि समेत विशेष व्यवस्था गरेको छ, जसले गर्दा उनीहरूको काम छिट्टै सम्पन्न हुन थालेको छ । केही समयअघि जिल्ला प्रशासन कार्यालयमै स्वास्थ्य परीक्षण सुविधासमेत सुरुआत गरिएकामा अहिले भने हटाइएको छ ।

  • ताजा समाचार