राष्ट्रसेवक
  • ११ फागुन २०८०
  • गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई समावेश गर्न चीनसँग आग्रह


    • राष्ट्रसेवक
    •    
    • February 4, 2023

  • गण्डकी, २१ माघ । होटल सङ्घ पोखरा नेपालले काठमाडौँस्थित चिनियाँ राजदूतावाससँग नेपाललाई पनि गन्तव्य राष्ट्रको सूचीमा समावेश गर्न आग्रह गरेको छ ।

    सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालका लागि चिनियाँ राजदूत चेन सोङलाई आग्रह पत्र प्रस्तुत गर्दै कोभिड-१९ केही मत्थर हुँदै गर्दा चीनले गन्तव्य मुलुकको सूची सार्वजनिक गर्नुलाई सकारात्मक रुपमा लिइएको उल्लेख गर्नुभयो ।

    सन् २०२३ मा चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाली पर्यटन व्यवसायी तयार र आशावादी भएको समयमा चीनका तर्फबाट सार्वजनिक २० गन्तव्य मुलुकको सूचीमा नेपाल नपर्दा सङ्घ निराश भएको आग्रह पत्रमा उल्लेख छ ।

    कोभिडसँगै भ्रमण स्थगनको करिब तीन वर्षको अन्तरालपछि चीनले सार्वजनिक गरेको सूची अनुसारको व्यवस्था आगामी सोमबारबाट लागू हुँदैछ । दुतावासलाई लेखिएको पत्रमा सार्वजनिक गरिएको देशको सूचीलाई पुनःविचार गरी नेपाललाई पनि त्यसमा समावेश गर्न आग्रह गरिएको छ ।

    उक्त सूचीमा नेपाललाई समेट्न सकिए कोभिड–१९ बाट थला परेको नेपाली पर्यटनलाई पुनरुत्थान गर्न र दुई देशबीचको सदिऔँ पुरानो सम्बन्ध थप प्रगाढ बन्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

    घुम्नका लागि नेपाल प्राकृतिक रुपमा सुन्दर र सांस्कृतिक तथा ऐतिहासिक रुपमा धनी रहेको स्मरण गराउँदै सङ्घले यहाँको हावापानी पनि चिनियाँ पर्यटकका लागि उपयुक्त रहेको पत्रमा बताएको छ ।

    चिनियाँ पर्यटक विगतमा नेपाल आउँदा पोखराको प्याग्लाइडिङ निकै मन पराउने गरेको र पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधिमा पनि उनीहरू सरिक हुने गरेको पत्रमा उल्लेख छ ।

    पोखरामा चिनियाँ पर्यटकका लागि आवश्यक सबै सुविधा उपलब्ध रहेको र चाइना सीएएमसी इञ्जिनियरिङ कम्पनीले चीनकै एक्जिम बैंकको सहुलियतपूर्ण ऋण सहायतामा निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यही माघ १ गते उद्घाटन गरिएको विषय पनि पत्रमा स्मरण गराइएको छ ।

    सङ्घको पत्र सम्बन्धमा राजदूतले सकारात्मक प्रतिक्रिया दिनुभएको सङ्घका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । पत्रको सम्बन्धमा आज फोनमार्फत् चिनियाँ राजदूतले चाँडै नै नेपाललाई गन्तव्य सूचीमा राख्ने आश्वासन दिनुभएको र पोखरा एवं नेपालप्रति चीन सकारात्मक रहेको राजदूतले भन्नुभएको सुवेदीले जानकारी गराउनुभयो ।

  • ताजा समाचार