देउखुरी, २९ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा संयुक्तरूपमा आज आयोजित स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विसं २०२७ को कानुनी संरचनामा रहेको हुलाक सेवाको तत्काल पुनःसंरचना गर्न लागिएको छ भन्नुभयो । उहाँले भन्नुभयो, “समयसापेक्ष सूचना प्रविधि र सङ्घीय संरचनाअनुसार काम अघि बढाउने गरी ‘ड्राफ्ट’ तयार भइसकेको छ ।”
उहाँले ‘मिडिया’ क्षेत्रमा देखापरेको समस्याका बारेमा मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि जानकारी लिने काम जारी रहेको बताउनुभयो । आगामी दिनमा पत्रकार र सञ्चार क्षेत्रको सवलीकरण हुने खालका कार्यक्रमलाई अघि बढाइने र सरकारी सञ्चारमाध्यमलाई प्रदेशस्तरमा व्यवस्थित गर्ने कामको थालनी गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले लोककल्याणकारी विज्ञापन कटौतीले साना मिडिया मारमा परेका जस्ता समस्या समाधान गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासङ्घ दाङ शाखा पूर्वअध्यक्ष प्रताप रेग्मी, सल्लाहकार सुदीप गौतम, पूर्वकेन्द्रीय सदस्य अजयदीप शर्मालगायतले भनाइ राख्नुभएको थियो । पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले गर्नुभएको थियो ।