राष्ट्रसेवक
  • १२ साउन २०८१
  • शासनपद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछ : प्रदेश प्रमुख गुरुङ


    • राष्ट्रसेवक
    •    
    • February 16, 2023

  • गण्डकी, ४ फागुन । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शासन पद्धति जीवन पद्धतिसँग जोडिनुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा आज पोखरामा आयोजित विशेष समारोहको उद्घाटन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थासँगै स्थापित प्रदेश केवल शासन प्रणालीका रुपमा मात्र नभइ नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित हुनुपर्ने बताउनुभयो ।

    “सङ्घर्षका बेला जनताका सामु तपाईँहामीले गरेका प्रतिबद्धता पूरा गर्ने गरी शासन पद्धतिलाई अघि बढाउनसक्ने हो भने मात्र आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने छन्”, उहाँले भन्नुभयो । आम नागरिकले पटक–पटक फेरिने मुद्दा र नारा होइन परिणाममा उपलब्धि खोजिरहेको बताउँदै उहाँले अबका योजना परिणाम दिने गरी बन्ने अपेक्षा गर्नुभयो ।

    यसअघि निमित्त प्रदेश सरकारका माध्यमबाट जनस्तरमा धेरै कार्य भएको उल्लेख गर्दै उहाँले जनताको घर दैलोमा प्रदेश सरकारका माध्यमबाट हुने विकास र समृद्धिका कार्यको राम्रो सुरुआत भएको र समृद्ध गण्डकी प्रदेश बनाउन धेरै कार्य गर्न अझै बाँकी नै रहेको बताउनुभयो ।

    जनताले प्रदेश सरकारका माध्यमबाट जुन उपलब्धिको आशा गरेका छन् त्यो पूरा गर्न प्रदेश सरकार अझै गम्भीर भएर लाग्न जरुरी भएको बताउँदै प्रदेश प्रमुख गुरुङले सरकारले विभिन्न राजनीतिक दल र आम नागरिकको भावनालाई समेटेर साझा बाटोमा हिँड्नुपर्ने आवश्यकता औंँल्याउनुभयो ।
    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले केन्द्र आश्रित प्रदेश अन्त्य गर्ने कुरामा आफूले पहल गरेको बताउनुभयो । संविधानको मर्मअनुसार अधिकारको प्रत्यायोजन नहुँदा समस्या आएको बताउँदै उहाँले प्रदेशको समृद्धि र विकासका लागि सत्तापक्ष, प्रतिपक्ष सबै एक ठाउँमा भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

    गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रदेश संरचनालाई व्यवस्थित बनाउँदै लैजानेतर्फ सबैको सामूहिक प्रयास आवश्यक भएको बताउनुभयो । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको संरचनामाथि भइरहेको आक्रमणको जवाफ कामले दिनुपर्ने बताउनुभयो । प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले जनताको नजिकैको प्रदेश सरकारले चुनौतीका बीचमा पनि अवसर खोज्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

    पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको मर्म र भावनाअनुरुप केन्द्रले निर्वाध रुपमा अधिकार प्रत्यायोजन गर्नुपर्ने बताउनुभयो । प्रदेशको समृद्धिका लागि कोरोला त्रिवेणी सडकलाई व्यवस्थित गर्नुपर्ने र आएका समस्यालाई समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।

    गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्राप्त उपलब्धिलाई रक्षा गर्ने सबैको साझा दायित्व भएको बताउनुभयो । संविधानले दिएका अधिकारलाई तीनवटै तहले आपसी समन्वयका साथ उपयोग गर्ने वातावरण तयार हुनुपर्ने उहाँको भनाइ छ ।

    कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापा, उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्य, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले प्राप्त उपलब्धिलाई रक्षा गर्दै प्रदेशको समृद्धि र विकासका लागि सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

  • ताजा समाचार