राष्ट्रसेवक
  • १२ साउन २०८१
  • बागमती प्रदेशसभा सदस्यलाई अभिमुखिकरण


    • राष्ट्रसेवक
    •    
    • February 16, 2023

  • बनेपा, ४ फागुन । बागमती प्रदेश सभाका नवनिर्वाचित प्रदेशसभा सदस्यका लागि काभ्रेपलाञ्चोकको धुलिखेलमा दुई दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।

    बागमती प्रदेशसभा सचिवालयको आयोजनामा भएको कार्यक्रममा प्रदेशभरिका नवनिर्वाचित प्रदेशसभा सदस्यको सहभागिता छ ।

    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कार्यक्रम शुभारम्भ गर्दै निर्वाचित सदस्यको काम, कर्तव्य, दायित्वका साथै संविधान र ऐन नियमका बारे जानकारी लिन अभिमुखिकरण कार्यक्रम फलदायी हुने बताउनुभयो ।

    “जनताले दिएर पठाएको जिम्मेवारी र उत्तरदायित्व बहन गर्दै समस्या समाधान गर्नको लागि संसद्मा अझ बढी क्रियाशील हुन यसले थप मद्दत गर्नेछ”, उहाँले भन्नुभयो ।

    प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेशसभा सदस्यले सरकारलाई संसद्प्रति जवाफदेही बनाउने तथा कार्यसम्पादन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा अभिमुखिकरणले दिशानिर्देश गर्ने बताउनुभयो ।

    प्रदेशसभामा निर्वाचित सदस्यलाई आवश्यकता अनुसार समय समयमा दिइने तालिममध्ये यो कार्यकालको दुई दिने गोष्ठी पहिलो पटकको भएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।

    गोष्ठीमा विधि निर्माण प्रक्रिया र सांसदको भूमिका, संसदीय गतिविधिमा सांसदको कर्तव्य र सुविधालगायत विषयमा विषय विज्ञहरुले सहजीकरण गर्ने आयोजकले जनाएको छ ।

    बागमती प्रदेशले पहिलो पाँच वर्षे कार्यकालको १० ओटा अधिवेशनमा दुई सय ७२ बैठक बसेको थियो । उक्त समयमा ७० ओटा कानुन पारित भएका छन् भने ३३ ओटा पाइप लाइनमा छन् ।

  • ताजा समाचार