राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नरैनापुर गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट


    • राष्ट्रसेवक
    •    
    • February 17, 2023

  • कर्णाली, ५ फागुन । मुलुकभरका सात सय ५३ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा बाँके जिल्लाको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट बन्न सफल भएको छ ।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यही फागनु ३ गते सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार उक्त गाउँपालिका देशकै पहिलो बन्न सफल भएको हो । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधीनमा रही प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकका आधारमा गरेको मूल्याङ्कन अङ्क प्रदान गरिएको थियो ।

    कार्यसम्पादन मूल्याङ्कनमा नरैनापुरले ७८ दशमलव ५१८६ अङ्क प्राप्त गरेको छ । दोस्रो बनेको प्यूठानको प्यूठान नगरपालिकाले ७७दशमलव २६१४ अङ्क प्राप्त गरेको छ । तेस्रो भएको म्याग्दीको मङ्गला गाउँपालिकाले ७७ दशमलव ०९२६ अङ्क प्राप्त गरेको थियो ।

    कार्यसम्पादनमा नरैनापुर गाउँपालिकालाई उत्कृष्ट भएको खबरले हर्षित बनाएको उक्त गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । “दुई महिनादेखि बिरामी भएकाले मलाई यो खबर थाहा थिएन । यहाँहरुको सूचनाबाट थाहा पाएँ”, उहाँले भन्नुभयो, “ जनप्रतिनिधि र कर्मचारीको कामप्रतिको यथेष्ट लगावले आज नरैनापुर देशकै उत्कृष्ट भएको हुन सक्छ ।”

    लुम्बिनी प्रदेशको बाँकेमा पर्ने उक्त गाउँपालिका आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय हिसाबले अत्यन्तै जोखिम र सुक्खाग्रस्त मानिन्छ । मुस्लिम र हिन्दू बाहुल्यता भएको सो गाउँपालिकामा गरिबी, अशिक्षा र परम्परागत कुसंस्कार पनि विद्यमान रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले राससलाई जानकारी दिनुभयो ।

    “चालू आर्थिक वर्षमा त पानी नै नपरेर यस गाउँपालिकामा धान हुन सकेन,” उहाँले भन्नुभयो, “जिल्लाको अन्य पालिकाहरुको हिसाबले नरैनापुर निकै अभाव र सङ्कटग्रस्त क्षेत्र हो ।” प्राकृतिक विपत्ति खासगरी खडेरीले यहाँको कृषि उत्पादनमा समस्या आएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताउनुभयो ।

    उक्त गाउँपालिकाका लेखपाल प्रकाश अधिकारीले काममा अहोरात्र खटेअनुसार सुखद खबर सुन्न पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत आर्थिक वर्ष बेरुजु आउने पालिकाकामध्येमा हामी जिल्लामै राम्रो देखियौँ । पछिल्लो समयमा अस्पताल जाने सुत्केरी सङ्ख्या ह्वात्तै बढेको छ । घरमा सुत्केरी हुने सङ्ख्या कम रहेको छ ।”

    विद्यालयमा विद्यार्थी भर्नादर पनि उच्चरुपले बढेको लेखापाल अधिकारी जनाउनुभयो । उहाँका अनुसार आव ०७८÷७९ मा नरैनापुर गाउँपालिकाले ९२ प्रतिशत पूँजीगत खर्च गरेको थियो । पूर्णखोप सुनिश्चित गाउँपालिका घोषित भएर त्यसको दिगो विकास कार्यक्रम सञ्चालन पनि भइरहेका छन् । राति अबेरसम्म नियमित खटेर काम गर्दा सफलता पाइँदोरहेछ भन्ने कुरा यो नतिजाले देखाएको देशमै पहिलो भएको खबरले हर्षित तुल्याएको उहाँले बताउनुभयो ।

  • ताजा समाचार