राष्ट्रसेवक
  • १२ साउन २०८१
  • राससको वार्षिकोत्सवमा पत्रकार तथा कर्मचारी पुरस्कृत


    • राष्ट्रसेवक
    •    
    • February 19, 2023

  • काठमाडौँ, ७ फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा पत्रकार तथा कर्मचारीलाई विभिन्न पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा राससले उत्कृष्ट समाचारदातातर्फ सिबी अधिकारी, सम्पादकमा हरि लामिछाने र कर्मचारीमा कम्प्युटर अपरेटर कुमारी कमला पौडेललाई नगद र सम्मानपत्रसहित पुरस्कृत गरेको छ ।

    नेपाल पत्रकार महासङ्घ रासस शाखाले प्रदान गर्ने यस वर्षको ‘रासस पत्रकारिता पुरस्कार’ वरिष्ठ सम्पादक (अङ्ग्रेजी समाचार) कृष्णप्रसाद सापकोटा र रासस सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख सिद्धराज भट्ट तथा ‘रासस पत्रकारिता पुरस्कार २०७८’ अन्तर्राष्ट्रिय समाचार शाखा प्रमुख शरच्चन्द्र भण्डारी, रासस बागमती प्रदेश कार्यालय प्रमुख सुरेश झालाई प्रदान गरियो । महासङघले प्रदान गर्ने यस वर्षको उमाकान्त–गीतादेवी–चन्द्रमणि रजौरे स्मृति पुरस्कार जिल्ला धनुषा जिल्ला समाचारदाता अजयकुमार साह र गतवर्षको सोही पुरस्कार मनाङ जिल्ला समाचारदाता नविनकुमार लामिछानेलाई प्रदान गरियो ।

    यसैगरी नेपाल राष्ट्रिय कर्मचारी सङगठनले प्रदान गर्ने ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार–२०७९’ प्रमुख समाचारदाता उत्तम सिल्वाल र कम्प्युटर अपरेटर रेशमा शाक्यलाई नगद र सम्मानपत्र सहित प्रदान गरियो । त्यस्तै २०७८ सालको सोही पुरस्कार चालकद्वय मधुसूदन अर्याल र विष्णु थापालाई प्रदान गरियो । रासस कर्मचारी सङ्घले प्रदान गर्ने ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत र चालक यादव गोतामेलाई प्रदान गरियो ।

    त्यस्तै ‘उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार–२०७८’ राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलाई प्रदान गरिएको छ । यसैगरी राससले प्रदान गर्ने यस वर्षको उत्कृष्ट स्थानीय समाचारदातातर्फ अजितकुमार झा, (इनरुवा, सुनसरी), सर्जना कार्की (रुकुम पूर्व) र टेकप्रसाद पोखरेल नवलपरासी (बर्दघाट सुस्तापूर्व), उत्कृष्ट आलेख पुरस्कार तोलाकान्त बगाले (वालिङ, स्याङ्जा, आलेख शीर्षकः ज्ञानको अभावमा पर्दैन उजुरी), उत्कृष्ट तस्बिर तथा श्रव्यदृश्यमा सुमनजङ्ग थापा (पर्वत) पुरस्कृत हुनुभएको छ । राससले ४० वर्ष लामो समयसम्म सेवा गरेबापत पूर्वकर्मचारी रामभगत बुढाथोकीलाईसमेत सो अवसरमा दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरेको छ ।

    वार्षिकोत्सवका अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले नगद र प्रशंसापत्रसहित उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।

  • ताजा समाचार