राष्ट्रसेवक
  • ११ साउन २०८१
  • भर्‍याङ्का खुड्किला हातले टेक्दै ओर्लिने विधामा नयाँ वर्ल्ड रेकर्ड : २५.०३ सेकेन्डमै पार गर्न नेपाल आर्मीका हरिचन्द्र गिरी बने सफल


    • राष्ट्रसेवक
    •    
    • March 26, 2023

  • काठमाडौँ । नेपाल आर्मीका हरिचन्द्र गिरीले संसारमा ‘सबैभन्दा छोटो समयमा भर्‍याङ्का खुड्किला हातले टेकेर ओर्लिने’ शिर्षकमा गिनिज वर्ल्ड रेकर्डस्मा दावी गरेका छन् ।

    गिरीले २५.०३ सेकेन्डमा भर्‍याङका ७७ खुड्किला हातले टेक्दै ओर्लिएर गिनिज वर्ल्ड रेकर्डस्मा दावी गरेका हुन् । यसअघि अमेरिकन नागरिक मार्क केन्नीले ३०.८ सेकेन्डमा गिनिज वर्ल्ड रेकर्डस्मा नाम लेखाएका थिए । केन्नीको रेकर्ड तोड्दै नेपाल आर्मीमा कार्यरत दाङ स्थायी घर भएका गिरीले २५.०३ सेकेन्डमै नयाँ विश्व रेकर्ड राख्न सफल भएका हुन् ।

    हालै बुढानिलकण्ठको जाम्चेन विजय स्तूपामा भर्‍याङ्का ७७ खुड्किला हातले टेक्दै २५.०३ सेकेन्डमै ओर्लिएर गिरीले विश्व रेकर्ड राखेका हुन् । केही समयभित्रै उनले गिनिज वर्ल्ड रेकर्डस्बाट आधिकारिक रुपमा सर्टिफिकेट हात पार्नेछन् । गिरीको यो कलालाई मन पराएर नेपाल आर्मिका उपरथी सन्तोष कुमार ढकाल र महासेनानी अच्युतम भन्डारीले उनलाई नेपाल आर्मिको खेलकुद केन्द्रमा ल्याएका थिए । यसले गर्दा आफ्नो खेल कला विकासका लागि एकदमै सहजता मिलेको गिरीले बताए ।

    यसअघि गिरीले तीन वटा शिर्षकमा गिनिज वर्ल्ड रेकर्डस्मा नाम लेखाईसकेका छन् । खुट्टाको बिचमा बल राखेर हातले टेकेर हिंड्ने शिर्षकमा उनले ४.४९ सेकेन्डमा १० मिटर पार गरेर पहिलो विश्व रेकर्ड राखेका थिए । यहि शिर्षकमा ५० मिटर दुरी उनले २५.५८ सेकेन्डमा पार गरेर दोस्रो विश्व रेकर्ड राखेका थिए । यस्तै भर्‍याङ्का खुड्किला हातले टेक्दै ओर्लिने शिर्षकमा १२.६५ सेकेन्डमा ५० खुड्किला पारेर गरेर तेस्रो विश्व रेकर्ड राख्न सफल भएका थिए ।

    गिरी २०७७ मा आयोजित आर्मी गट् ट्यालेन्ट प्रतियोगितामा उत्कृष्ट जवान समेत हुन् । त्यसबापत नेपाली आर्मीले गिरीलाई ५० हजार रुपैंयाँ नगद प्रदान गरेर सम्मान प्रदान गरेको थियो । बिगत ९ वर्षदेखी नेपाल आर्मीमा आवद्ध गिरी हाल त्रिभुवन आर्मी क्लबमा आबद्ध छन् ।

  • ताजा समाचार