राष्ट्रसेवक
  • १२ साउन २०८१
  • आपसी सहकार्य सम्बन्धमा राजदूत थम्पसनसँग छलफल


    • राष्ट्रसेवक
    •    
    • April 29, 2023

  • गण्डकी, १६ वैशाख । पोखराका पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच आपसी सहकार्यका विषयमा पोखरामा छलफल भएको छ । छलफलमा होटेल सङ्घ पोखरा नेपालका महासचिव राजेन्द्र ढकाल र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पोखराको पर्यटकीय अवस्थाका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

    अमेरिकी नागरिक र अमेरिकी पर्यटकको सुरक्षाप्रति आफूहरू संवेदनशील रहेको सङ्घका महासचिव ढकालले बताउनुभयो । विगतमा अमेरिकी दूतावाससँग सङ्घ नजिक रहेर काम गरेको र भविष्यमा पनि त्यस्तो सहकार्यप्रति आफूहरु आशावादी रहेको पन्थीले बताउनुभयो । पछिल्लो समयमा नेपाल घुम्न आउने अमेरिकी पर्यटकको सङ्ख्या बढेको उहाँले जानकारी गराउनुभयो ।

    सुन्दर ताल, हिमाल र विविध संस्कृति यहाँको विशेषता रहेको बताउँदै उहाँले झण्डै चार दशकदेखि सङ्घले पर्यटकीय सेवासुविधालाई गुणस्तरीय बनाउनेतर्फ काम गर्दै आएको स्मरण गराउनुभयो । यस क्षेत्रको होटल उद्योगमा मात्र पाँच खर्ब रुपैयाँ लगानी रहेको जानकारी गराउँदै पन्थीले रोजगारी सिर्जनासँगै राष्ट्रिय अर्थतन्त्रमा सहयोग गर्दै गरिबीको अन्त्य गर्ने उद्देश्य राखिएको बताउनुभयो ।

    कोभिड–१९ पछि पोखराको पर्यटन क्षेत्र पनि मारमा परेको बताउँदै उहाँले पर्यटकीय सेवा सुविधामा कुनै कमी नहुने गरी अप्ठ्यारो अवस्थामा पनि आफूहरूले सेवा गरिरहेको बताउनुभयो । पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलले सेवा सुरु गरिसकेको र पृथ्वी राजमार्गको स्तरोन्नति पनि केही अवधिमा सकिने उल्लेख गर्दै उहाँले पर्यटकीय पूर्वाधारका हिसाबले पोखरामा कुनै समस्या नभएको स्पष्ट पार्नुभयो ।

    पोखरामा अमेरिकाका ब्लगर, ट्राभल राइटर र पत्रकारलाई निमन्त्रणा गर्न र भ्रमण गराउनका लागि दूतावाससँग आवश्यक सहकार्य गर्न सङ्घ तयार रहेको उहाँले जानकारी गराउनुभयो । पोखराको पर्यटन क्षेत्रमा लगानीका लागि अहिलेको उपयुक्त समय भएको उल्लेख गर्दै उहाँले द्विपक्षीय व्यापारिक लाभका लागि सङ्घले आवश्यक भूमिका खेल्नसक्ने बताउनुभयो । छलफलमा राजदूत थम्पसनले पदयात्रामा जाने पर्यटकका लागि पथप्रदर्शक अनिवार्य गरिएको विषयप्रति चासो व्यक्त गर्नुभएको थियो । राजदूतको चासोका सम्बन्धमा अध्यक्ष पन्थीले पर्यटकको सुरक्षाका लागि पथप्रदर्शको व्यवस्था गरिएको स्पष्ट पार्नुभयो । —

  • ताजा समाचार