राष्ट्रसेवक
  • ०९ वैशाख २०८१
  • बैंस नआएका लालीगुराँस


    • राष्ट्रसेवक
    •    
    • April 30, 2023

  • फुङ्लिङ, १७ वैशाख : चैत–वैशाख महिना वनपाखामा ढकमक फूलेर राताम्य हुनु गुराँसको विशेषता नै हो । त्यसैले त अरु फूलभन्दा उच्च कोटीमा आफ्नो आकर्षण बनाउन सकेको छ । अस्थित्व राख्न सफल भएको हुनसक्छ । तर अहिले ठिङ्रिङ उभिएको देख्दा कति लाज लागेको होला ? धेरैको मनमा एउटै जिज्ञासा पाइन्छ, चैत–वैशाख ढकमक फुल्ने गुराँसलाई यस वर्ष किन बैंस नआएको होला ?

    पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसको झाङ । तर गुराँस हो कि होइन भने ठम्याउन निकै मुस्किल छ । किन कि अरु रुखभन्दा त्यति भिन्नता देखिँदैन । पाथीभरा मन्दिरमा प्रत्येक दिन पूजापाठ गर्न जाने आउने तीर्थयात्री एकैछिन उभिएर यसो हेर्ने गर्दछन् । अनि भन्ने गर्दछन्–यसपटक “गुराँस किन फुलेन ?”

    विगतको समयमा पाथीभरा जाने पदमार्गमा कुनै विशिष्ट व्यक्ति वा दुलहीको स्वागत गर्नका लागि बसेको जस्तै पदमार्गको दायाँबायाँ विभिन्न प्रकारका लालीगुराँसका फूलले सजिएको हुन्थ्यो । पाथीभरा क्षेत्रका वनपाखा रङ्गिन बन्थ्यो । लालीगुराँस फुलेपछि पाथीभरा दर्शनका लागि आउने तीर्थयात्री सबैको मन लोभ्याउने गर्दथ्र्यो । गुराँसका रुख छन् तर तिनमा फूल लागेको छैन ।

    विगतका वर्षमा पाथीभराको दर्शनसँगै गुराँस फुलेको मनोरम दृश्यको अवलोकन गर्न ठूलो सङ्ख्यामा तीर्थयात्री आउने गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुहुन्छ । नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने समितिले जनाएको छ ।

    सिदिङवा गाउँपालिका–४ साब्लाखुकी फूलमाया लिम्बूलाई पाथीभरा दर्शनसँगै पदमार्गको दायाँबायाँ फुलेको गुराँसको आनन्द लिने पनि धोको थियो । उहाँका ती रङ्गीन सोच लामो समय टिक्न सकेन । उहाँले बाटोमा कतै गुराँस फुलेको देख्न पाउनु भएन । “किन गुराँस फुलेन ?” लिम्बूले भन्नुभयो, “गुराँस फूलेको हेर्न पाइन्छ भने आइयो तर गुराँस फुलेको रहेनछ ।” त्यस्तै गुराँस हेर्नका लागि पाथीभरा आएका सप्तरीका शिव यादवको मन पनि खिन्न भयो । गुराँस तस्बिरमा मात्रै देख्नुभएका उहाँ भन्नुहुन्छ, “ढकमक्क गुराँस फूलेको हेर्ने इच्छा पूरा भएन ।”

    जलवायु परिवर्तन कारणले गुराँस फुल्न नसकेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका वन संरक्षक दिपेन्द्र पोखरेल बताउनुहुन्छ । यस वर्ष विगतको जस्तो असोजदेखि खासै वर्षा हुन सकेन । हिमाली भेगहरुमा हिमपात नभई हिउँ पर्ने समय गएको छ । विगतमा चाँदी जस्तै सेताम्य हुने हिमालहरु कोलो चट्टान जस्तै देखिन थालेका छन् । हिउँ पग्लेर हिमरेखाभन्दा माथि जान थालेको पोखरेलले बताउनुभयो ।

    वनस्पतिविद् विजया पन्त जमिनमा पानीको मात्रा कम भएकाले यसपालि गुराँस नफुलेको हुनसक्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पानीलाई सोसेर गुराँस फुल्ने भएकाले फुल्नु अघि पानी नपर्दा गुराँस फुल्न सकेन ।” उहाँका अुसार सुक्खा हुनेबित्तिकै सुक्ष्म जीवाणु र ढुसीले माटो मलिलो र रसिलो बनाउने प्रक्रिया बन्द हुने भएकाले कोपिला लागे पनि गुराँसको फूल फक्रिन नसकेको हुनुपर्छ ।

    पर्यटन मन्त्रलयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरहेको छ । यस क्षेत्रमा सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन् । यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छन् । यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङ जस्ता प्रजातिसमेत रहेका छन् ।

    हिमाली र पहाडी भेगमा ढकमक्क गुराँस फुलेको हुन्छ । फागुनदेखि जेठसम्म गुराँस फुल्छ । गुराँसलाई विम्ब बनाएर धेरै गीत, गजल र कविता लेखिएका छन् । यतिबेला सामाजिक सञ्जालमा गुराँस छेउ उभिएको, हत्केलामा गुराँस राखिएको, कानमा स्युरिएका तस्बिर बढी लोकप्रिय हुन्छन् । पाथीभरा जानेहरु देउतालाई गुराँस चढाउँछन् ।

    नेपालमा छ हजार मिटरको उचाइमा गुराँस पाइन्छ । वन तथा वातावरण मन्त्रालयको वन तथा भू–संरक्षण विभागले प्रकाशित गरेको “गुराँस संरक्षण कार्ययोजना २०७५–२०८०” मा मेची–महाकालीसम्म ४३ जिल्लामा धेरै प्रजातिका गुराँस पाइने उल्लेख छ । छ लाख ९१ हजार पाँच सय ९६ हेक्टर अर्थात् कूल वनको १० प्रतिशत क्षेत्रमा गुराँस पाइन्छ । प्रदेशमा टिएमजे (तिनजुरे, मिल्के र जलजले), ताप्लेजुङको पाथीभरा क्षेत्र, पाँचथरका छिन्तापु–सुकेपोखरी र च्याङ्थापु, इलाम, सोलुखुम्बु, खोटाङ, धनकुटाका गाउँ गुराँसका लागि चर्चित छन् । बाग्मती प्रदेशका दामन–सिमभञ्ज्याङ र रसुवामा गुराँस पाइन्छ । गण्डकी प्रदेशका कास्की, घोडेपानी, लमजुङ, म्याग्दी गुराँसका लागि निकै चर्चित छन् ।

    कर्णाली प्रदेशको रुकुम, मुगु, हुम्ला, डोल्पा, जुम्ला र दैलेखमा गुराँस पाइन्छ । सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेल्धुरा, बैतडी लगायत क्षेत्र गुराँसका चर्चित छन् । नेपालका ४३ वटै जिल्लामा गुराँस पाइने विभागले जानएको छ । गुराँस संरक्षण कार्ययोजनामा एसिया, उत्तर अमेरिका, युरोप र अस्ट्रेलिया महादेशमा गुराँस पाइन्छ । गुराँस पाइने कुल क्षेत्रफलको ९० प्रतिशत नेपाल, चीन, भारत, भूटान, म्यानमार, थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया र फिलिपिन्सले ओगटेका छन् । हिमाली तथा पहाडी क्षेत्रमा कतै गुराँसकै जङ्गल, कतै मिश्रित जङ्गल पाइन्छन् ।

    ‘कञ्चनजङ्घा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू नामक’ पुस्तकका अनुसन्धानकर्ता तथा लेखक डा यादव उप्रेतीका अनुसार गुराँसको प्रचुरता पूर्वी हिमालय र मलाया दीप समूहमा अत्यधिक देख्न सकिन्छ । उप्रेती चीनको युनान प्रान्तमा दुई सय ५०, भारतको अरुणाचलमा ७५, सिक्खिममा ३६, भूटानमा ४६ र नेपालमा ३३ प्रजातिको गुराँस पाइने बताउँछन् ।

    गुराँसप्रतिको आकर्षण एकातिर छ भने यसको जैविक तथा पर्या–पर्यटकीय महत्व पनि उत्तिकै छ । गुराँसले वनको शोभा बढाउने र पर्यटक आकर्षित गरेको जैविक विविधतामा लामो समयदेखि काम गर्दै आउनुभएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राई बताउनुहुन्छ । “गुराँसलाई पर्यटनसँग जोड्नुपर्छ”, राई भन्नुहुन्छ, “विकास निर्माण तथा विभिन्न अतिक्रमणका कारण गुराँस वन क्षेत्र घट्दै गएको छ । यसलाई जोगाउन गुराँससम्बन्धी थप अध्ययन र अनुसन्धान आवश्यक छ ।”

    नेपालमा पहिलोपटक गुराँस लगायतको नुमना र बीउ सङ्कलन स्कटल्यान्डका वनस्पति विज्ञ फ्रान्सिस बुखानन हामिल्टले गरेको थियो । सन् १८०२ देखि १८०३ सम्म नेपालमै बसेर गुराँसको नुमना सङ्कलन गरेका थियो । त्यस्तै, गुराँस अध्ययनकै सिलसिलामा वनस्पतिविज्ञ जेडी हुकरले सन् १८४८ नोपलका पूर्वी पहाडी क्षेत्रको भ्रमण गरेका थियो । पछिल्लो समयमा गुराँस मासिने क्रम बढ्दै गएकामा स्थानीय तथा संरक्षण अभियानका अगुवा चिन्तित छन् । सडक निर्माण, विद्युत् प्रसारण लाइन विस्तारका कारण गुराँसका रूख मासिने क्रम बढेको छ । त्यसो त दाउरालगायत प्रयोजनका लागि गुराँस वन फँडानी भएको छ ।

    विकास निर्माणका क्रममा गुराँसका रूख जोगाउनुपर्ने आवाज उठाउन थालिएको छ । कोसी करिडोरअन्तर्गत विद्युत् प्रसारण लाइनमा टिएमजे क्षेत्रमा सात हजार छ सय २९ गुराँसका रूख हटाउनुपर्ने बताइएको छ । “नेपालमा गुराँस क्षेत्रबारे थप अध्ययन, अनुसन्धान हुन आवश्यक छ । गुराँसलाई पर्या–पर्यटनसँग जोड्न धेरै काम गर्न बाँकी छ”, डा उप्रेती भन्नुहुन्छ ।

    यतिबेला पाँचथर सुखेपोखरीका महिला गुराँस टिपेर जोहो गर्छन् । उहाँहरूले गुराँसबाट पेय पदार्थ बनाउँदै आएका छन् । गुराँस जोहो गर्ने अस्मिता वान्तवा भन्नुहुन्छ, “भुइँमा झरेका गुराँस बटुलेर पेय पदार्थ बनाउँछौँ ।” केही वर्षयता गुराँसबाट पेय पदार्थ बनाउँदै आएको वान्तवाको भनाइ छ । उहाँ भन्नुहुन्छ, “गुराँसबाट बन्ने पेपदार्थको माग धेरै छ, तर मागअनुसारको उत्पादन गर्न सकिएको छैन ।”

    गुराँस फुल्ने क्षेत्रका मानिस हरेक वर्ष देउतालाई गुराँस चढाउँछन्, औषधिका रूपमा गुराँसको जोहो गर्छन् । घाँटीमा खानेकुरा अड्किँदा गुराँस खुवाउनुपर्ने जनविश्वास रहिआएको छ । अचार, सर्बत र रक्सी बनाउन पनि गुराँस उपयोगी हुन्छ । गुराँसका पात, बोक्रा र फूल मानिस तथा घरपालुवा जनावरका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । अचार, सर्बत र रक्सी बनाउन पनि यो झनै उपयोगी हुन्छ ।

    नेपाल भूभागभित्र सयपत्री, मखमलीजस्ता सयौँथरि फूल छन् । गुराँसभित्रै अनेकौँ प्रजाति छन् तर लालिगुराँसलाई नै किन राष्ट्रिय फूल बनाइयो ? गुराँसलाई राष्ट्रिय फुलको मान्यता दिनका लागि वनस्पति विभागका तत्कालीन वरिष्ठ वनस्पतिविद् प्रयागराज पाण्डे नेतृत्वको टोलीले दरवारलाई सुझाव दिएको थियो । मुलुकको पूर्वदेखि सुदूरपश्चिमका विभिन्न ४३ जिल्लाकामध्ये तथा उच्च पहाडी भेगमा गुराँस पाइन्छ ।

    मेचीदेखि महाकालीसम्म लालिगुराँस पाइने भएकाले यस वनस्पतिलाई राष्ट्रिय पहिचानका लागि सिफारिस गरिएको थियो । विसं २०१९ पुस १ गते जारी संविधानले राष्ट्रिय जनावर, पन्छी, फूल, झण्डा, रङसहित अन्य राष्ट्रिय पहिचान सूचीकृत गरेपछि लालीगुराँसको परिचय फराकिलो बन्न पुगेको वनस्पतिविद् डा तीर्थबहादुर श्रेष्ठको भनाइ रहेको छ ।

    नेपालको कूल वन क्षेत्रको करिब १० प्रतिशत भेग गुराँसका प्रजाति पाइने मिश्रित जङ्गलले रहेको र यस्तो जङ्गलले करिब छ लाख ९२ हजार हेक्टर क्षेत्रफल ओगटेको वन तथा वातावरण मन्त्रालयको अभिलेख छ ।

    ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुमको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे)मा सबैभन्दा धेरै २८ प्रजातिका गुराँस पाइने भएकाले सो भेगले गुराँसको राजधानीको उपमा पाएको छ । सरकारले वातावरण संरक्षण ऐन, २०५३ र वातावरण संरक्षण नियमावली, २०५३ अनुसार टिएमजे गुराँस संरक्षण क्षेत्र घोषणा ग¥यो । नेपालको वन नीति २०७१, वन क्षेत्रको रणनीति, २०७२ र राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजनाअनुसार पाँच वर्षे गुराँस संरक्षण कार्ययोजना (२०७५–२०८०) तयार भएको छ । त्यसअघि नेपाल जैविक रणनीति कार्यान्वयन योजना (२०६३–२०६७) ले टिएमजेलाई मुलुकका प्राथमिकता क्षेत्रमध्येको एक क्षेत्रका रुपमा पहिचान गरेको थियो ।

  • ताजा समाचार