राष्ट्रसेवक
  • १७ फागुन २०८०
  • मह उत्पादन गरेर वार्षिक ३५ लाख आम्दानी


    • राष्ट्रसेवक
    •    
    • May 6, 2023

  • घर वरिपरि मौरीका घारैघार । घर अघि ठूलो सुन्तलाको बगैँचा । बिहानै उठेदेखि साँझ नपरुञ्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण तिमिल्सिनाले देखाउनुभएको छ । दुई दशकदेखि व्यावसायिक मौरीपालन व्यवसाय गर्दै आउनुभएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक रु ३५ लाख रुपैयाँसम्म कमाएको बताउनुहुन्छ । उहाँको घरमा अहिले सय मौरीका घार छन् । मौसममा यसको सङ्ख्या थपिन्छ ।

    एपि सेरेना जातको मौरी पाल्नुभएका तिमिल्सिनाले यो व्यवसायबाट गतिलो कमाइ गर्न सफल भएको बताउनुभयो । सुरुमा चिसोले ५० प्रतिशत घाटा ब्योहोर्नुभएका तिमिल्सिनाले पछिल्ला वर्ष सोचे जतिनै आम्दानी हुने गरेको बताउनुभयो । उहाँले वर्षमा दुई पटक मह निकाल्नहुन्छ । विसं २०५७ बाट व्यावसायिक माहुरीपालन थाल्नुभएका तिमिल्सिनाको मुख्य आम्दानी यही नै हो । तिमिल्सिना भन्नुहुन्छ, “ मह घरबाटै बिक्री हुन्छ । गुणस्तरीय भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन । मागअनुसार ग्राहकलाई पु¥याउन सकिरहेको छैन ।” उहाँले मह मात्र हैन मौरीको घार र गोलासमेत बिक्री गर्नुहुन्छ ।

    उहाँले गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “कुश्माबजार, बागलुङ, काठमाडौँ, पोखरा र बुटबललगायतका क्षेत्रवाट व्यवसायी घरमै आएर लैजान्छन् ।”

    विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिनुभयो । उहाँले वर्षमा तीन सय घारसम्म बिक्री गर्नुहुन्छ । मौरीसहितका घार प्रतिगोटा रु नौ हजार र मह प्रतिकिलो एक हजारमा बिक्री हुन्छ । विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोत तिमिल्सिनाको फार्म बनेको छ । उहाँले एक सिजनामा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाउनुभयो ।

    तिमिल्सिनाले सोही स्थानमा तीन सय सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा पनि बनाउनुभयो तर सुन्तला मर्दै गए । सुन्तलामा भविष्य नदेखेपछि उहाँ माहुरीपालनतर्फ आकर्षित हुनुभएको हो । तरकारी खेती, पशुपन्छी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्न नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अर्का अगुवा कृषक उमाकान्त शर्माले बताउनुहुन्छ ।

    उहाँका अनुसार अहिले पर्वतका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ ।

  • ताजा समाचार