राष्ट्रसेवक
  • १२ साउन २०८१
  • बाहिरको आदेशबाट प्रशासन चलेको छ : पूर्वसभामुख ढुङ्गाना


    • राष्ट्रसेवक
    •    
    • July 1, 2023

  • काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाले संसद्ले बनाएको कानुनभन्दा बाहिर रहेर प्रशासन चलिरहेको बताएका छन् । ६५औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    संसद्ले बनाएको कानुनबाट प्रशासन नचलेको र संसद्ले यसबारेमा ध्यान दिन नसकेको उनले उल्लेख गरे । उनले राजनीतिक पार्टीहरू सत्ताको स्वार्थमा डुबिरहेको पनि बताए ।

    संसद्ले बनाएका कानुन प्रशासनले नमान्नु यसको अपमान भएको उनको भनाइ छ । “कानुन किन बनाउनुपर्ने जनप्रतिनिधिले, सार्वभौम जनप्रतिनिधिले भने, त्योभन्दा बाहेकको कुनै कारबाही नहोस्, प्रत्यायोजित, निर्देशिका, ऐन, कानुन, नियमावली, आदेश केही पनि संसद्ले बनाएको विधेयकभन्दा टाढा नहोस्, त्योसँग नबाझिने होस् भनेर । तर, अहिले म सुन्दै छु, संसद्ले एउटा कानुन बनाउँछ, तर अरू अरूकै आदेशबाट प्रशासन चलिरहेको छ,” उनले भने, “त्यो हेर्ने को हो ? तपाईँहरू, संसद्ले हेर्ने होइन ? ल, हाम्रा पार्टीलाई त सत्तामै फुर्सद भएन, हुनेलाई कसरी मेरो सत्ता बचाऊँ, नहुनेलाई सत्तामा जान हतारो, त्यो मात्रै छ । हाम्रो देशको राजनीतिमा अब त प्रदेशमा पनि सरिसक्यो । हामीले बनाएको कानुनलाई छल्ने गरी प्रशासनले जुन-जुन आदेश गरेको छ, त्यो संसद्को अपमान हो । त्यो हेर्ने को ? हेरिरहनुभएको छ तपाईँहरूले ? त्यो हेर्नुपर्छ । संसद्को कामै छैन, त्यो हेरिँदैन भने । संसद्को इच्छाबेगरको कुरा कुनै ऐन, कानुनबाट हुँदैन । त्यही भएर संसद्ले नै कानुन बनाउनुपरेको हो । यहाँ प्रशासनले जे पनि गरिरहेको छ ।”

  • ताजा समाचार