राष्ट्रसेवक
  • १२ साउन २०८१
  • प्रशासनिक रूपान्तरण नभएकाले चाहेजस्तो काम गर्न सकिएन : मुख्यमन्त्री


    • राष्ट्रसेवक
    •    
    • September 9, 2022

  • टीकापुर, २४ भदौ । प्रशासनिक रूपान्तरण नभएकाले आफूले चाहेका काम गर्न नसकेको महसुस भएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनुभएको छ । कैलालीको टीकापुरमा सुरु भएको नेपाल जेसिजको एरिया ‘घ’ सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले जनप्रतिनिधिका योजना राम्रा भए पनि धरातलीय यथार्थ भन्दा फरक भएका र प्रशासनिक रूपान्तरण नभएकाले चाहेजस्तो काम गर्न नसकिएको महसुस भएको बताउनुभयो । नेपालमा राजनीतिक परिवर्तनसँगै गरिएका अपेक्षा पुरानै प्रशासनिक संरचनाका कारण सम्भव नभएको उहाँको भनाइ छ ।

    नीतिहरू कार्यान्वयन गर्ने र प्रशासनिक कमजोरीका विषयमा बहस नभएको बताउँदै भट्टले थप्नुभयो, “इमान्दारीपूर्वक शासन चलाउने कुराको पनि कमी भयो होला, भने जस्तै गर्न नसक्दा जनस्तरमा आलोचना र वितृष्णा बढ्दै गएको छ ।” मुख्यमन्त्री भट्ट सङ्घीयता र सरकारका कामको परिणाम पाँच वर्षमै नआउने बताउनुहुन्छ । “सङ्घीयताका विषयमा अहिल्यै समीक्षा गर्ने समय भएको छैन । सङ्घीयता सहरमा भन्दा गाउँमा भेटिने गरेको छ”, उहाँ भन्नुहुन्छ, “पहिले लाख बजेट नपाउने दुर्गम गाउँमा अहिले करोडौँको बजेट खर्च भइरहेको छ ।

    यो उपलब्धि हो ।” कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले प्रदेश सरकारबाट जनताले धेरै आशा राखेको बताउनुभयो । “यसअघि सरकारबाट भएका अलोकप्रिय काम सुधार गर्दै जान्छौँ । युवा जिम्मेवारीमा आउनुपर्ने र देशमा सुशासन कायम गर्नुपर्ने आवश्यकता छ”, मन्त्री रावलले भन्नुभयो, “टीकापुर विविध सांस्कृतिक समूहको साझा स्थल र शैक्षिक नगरीका रूपमा टीकापुर विकास भइरहेको छ ।”

    टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले टीकापुर आक्रान्त सहरका रूपमा नभई शान्तिपूर्ण बासस्थल हो भन्ने सन्देश प्रवाह गरिदिन सम्मेलनमा सहभागी जेसिज युवालाई आग्रह गर्नुभयो । “केही वर्षअघिको घटनाका कारण टीकापुर आक्रान्त छ भन्ने सन्देश होइन, शान्त र शभ्य छ भन्ने सन्देश लिइदिनुहोला”, उहाँले भन्नुभयो । कार्यक्रममा १८ देखि ४० वर्षसम्मका करिब हजार युवा सहभागी छन् । कार्यक्रममा नेपाल जेसिजका गैँडाकोटदेखि पश्चिम महाकालीसम्मका ३३ जिल्लाका ५५ वटा जेसिज, लेडिज जेसिज र जुनियर जेसिज सहभागी छन् । सम्मेलन शनिबार सकिनेछ । सम्मेलनले टीकापुर घोषणापत्र जारी गर्नेछ ।

  • ताजा समाचार