राष्ट्रसेवक
  • १२ साउन २०८१
  • कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै


    • राष्ट्रसेवक
    •    
    • July 18, 2023

  • काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक ललितपुरस्थित केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बोलाइएको छ ।

    गत असार २७ गतेदेखि सुरु हुने भनिएको बैठक प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनका कारण स्थगित गरिएको थियो । 

    आज सुरु हुने बैठकमा विभिन्न १० वटा एजेन्डामाथि छलफल हुनेछ । हिजो पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको हो ।

    बैठकको पहिलो एजेन्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

    त्यसैगरी साङ्गठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने उनले जानकारी दिए । महामन्त्री शर्माका अनुसार कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुनेछ ।

    केन्द्रीय समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि रहेका छन् ।

    अरू एजेन्डाहरूमा पार्टीले प्रतिनिधिसभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने कार्यतालिका बनाइएको छ ।

    केन्द्रीय समिति बैठकको विभिन्न माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको महामन्त्री शर्माले जानकारी दिए ।

    यसअघि कांग्रेस केन्द्रीय समिति बैठक २०७९ साल असार २७ देखि साउन २ गतेसम्म बसेको थियो ।

  • ताजा समाचार