राष्ट्रसेवक
  • १२ साउन २०८१
  • रैथाने बालीको संरक्षण गरिँदै


    • राष्ट्रसेवक
    •    
    • September 11, 2022

  • मान्म, २६ भदौ । कालीकोट जिल्लामा लोपोन्मुख रहेको रैथाने बाली संरक्षण गर्न किसान लागेका छन् । यस्ता बालीको माग बढ्न थालेपछि उनीहरु संरक्षणमा जुटेका हुन् । जिल्लामा पाइने रैथाने बाली चिनु, कागुनु, फापर, कोदो, जौँलगायतका बाली अहिले लोपोन्मुख अवस्थामा छ । पछिल्लो समय यसको माग बढेपछि संरक्षण अभियानमा किसान जुटेका छन् । झण्डै दुई दशक पहिले जिल्लामा उल्लेख्यरूपमा ती बालीउत्पादन हुने गर्दथ्यो ।

    यस वर्ष एक रोपनी जग्गामा चिनुखेती गरेको खाँडाचक्र नगरपालिका– ११ स्थानीय जीवन गिरीले जानकारी दिनुभयो । “चिनुको माग काठमाडौँका व्यापारीबाट आएपछि गाउँमा खेतीको सुरुआत गरेका हुँ ।” उहाँले भन्नुभयो, “जिल्लाको सुन्तलागाउँ भनेर चिनिने गरेको छ, परापूर्वकालमा गाउँमा चिनु, कागुनुको व्यापकरूपमा खेती हुन्थ्यो । अहिले पुनः खेती सुरु गरेको छु ।” परीक्षणका रूपमा यो वर्ष एक रोपनी जग्गामा सुरु गरिएको चिनुखेती निकै राम्रो फलेको उहाँको भनाइ छ ।

    जिल्लामा स्थानीय सरकारले पनि रैथाने बाली संरक्षणका लागि पहल थालेका छन् । लोपोन्मुख रैथाने बाली संरक्षणका लागि नगरले आफ्ना नीति तथा कार्यक्रममै समेटेको तिलागुफा नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले बताउनुभयो । “हामी किसानलाई रैथाने बाली उत्पादन गर्नका लागि अनुदान दिन्छौँ । उत्पादित बालीको बजारको सुनिश्चितता गर्छौँ ।” उहाँले भन्नुभयो, “नगरभित्र उत्पादित रैथाने बाली नगरले नै खरिद गरी बजारीकरण गर्ने योजना छ ।”

    रैथानी बाली संरक्षणका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सुरु गरेको पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले जानकारी दिनुभयो । ‘पलाँता क्षेत्र कोदो, चिनु, कागुनु, फापर, सिमी र आलु उत्पादनको राम्रो सम्भावना भएको क्षेत्र हो”, उहाँले भन्नुभयो, “यहाँको उत्पादित रैथाने बाली विगतमा आफैँलाई मात्र प्रयोग गरिन्थ्यो । अब किसानलाई धेरै मात्रामा उत्पादन गरेर जिल्ला बाहिर निर्यात गराउने योजना छ ।”

  • ताजा समाचार