राष्ट्रसेवक
  • १२ साउन २०८१
  • न्याय खोज्न जाँदा अन्यायमा परेपछि


    • राष्ट्रसेवक
    •    
    • August 10, 2023

  • विजेन्द्र साह

    ‘नेपालको कानुन दैवले जानुन्’ भन्ने सुनेको थिएँ । अहिले आफैमाथि त्यो कुरा लागु भएको छ । आम नागरिकहरुले न्याय पाउँन कति कठिनाई भोग्नुपर्छ भन्ने कुरा आफैले भोग्नु परेको छ । न्याय माग्न जाँदा आफै अन्यायमा परेर आज म भौतारिनु परेको छ ।

    मेरो स्थायी ठेगाना रौतहट, गढिमाई नगरपालिका ६ हो । सर्लाहीको धनकौलस्थित मैनाथपुर ४ मा पनि हाम्रो बसोबास रहेको छ । म एउटा साधारण नेपाली नागरिक । खेती, किसान गरेर खाने व्यक्ति । आफ्नो पुर्ख्यौली जग्गा, जमिन र केही भाडाको जमिनमा उखु, धान, गहुँ फलाएर जिविकोपार्जन गर्दै आएको सामान्य किसान हुँ । मैले अरुको विश्वास गर्दा पाउनुसम्म दुःख पाईयो । म मात्रै होईन मेरो परिवारका सदस्यले समेत दुःख भोग्नु परेको छ ।

    आफ्नै छिमेकी, घर नजिकै बस्ने व्यक्तिले पैसा माग्दा सापट दिएपछिको सास्ति म अहिले भोगिरहेको छु । रौतहटको गरुडा नगरपालिका ३ बस्ने राजकुमारी देवीले ०७५ साउन ९ गते मसँग कपाली तमसुक गरी २० लाख रूपैंयाँ घर बनाउँनका लागि सापटी लिएकी थिईन् । त्यो रकमले उनले सर्लाहीमा जग्गा जोडिन् । घर बनाईन् । मिल पनि खोलिन् ।

    तर, जब निश्चित समयपछि पैसा मागें, मलाई उल्टै ज्यान मार्ने धम्की आयो । राजकुमारीले सापटबापत लगेको रकम फिर्ता नगरेपछि मैले जिल्ला अदालत रौतहटमा २०७७ पुष ८ गते लेनदेन मुद्दा दर्ता गरें । सुरुमा मलाई मुद्दा फाँटका कर्मचारीले २ लाख रूपैंयाँ घुस मागे । घुस दिएपछि २० लाख र ब्याज सहितको रकम असुलिदिने बचन दिएका थिए । तर, मैले घुस दिन इन्कार गरें ।

    पछि पैसा फिर्ता नदिएको विषयमा मुद्दा दर्ता गरेपछि राजकुमारीले मलाई ज्यान मार्ने धम्की दिईन् । यति मात्र होईन राजकुमारीले जिल्ला अदालत रौतहटका मुद्दा फाँटका कर्मचारीलाई घुस दिएर प्रभावित पारिन् । मैले पाउनुपर्ने २० लाख रूपैंयाँ र ब्याज सहितको रकम हो । तर, ५ लाख रूपैंयाँ मात्र पाउने कागजमा जबरजस्ति मलाई हस्ताक्षर गराईयो । मैले इन्कार गर्दागर्दै मलाई जबरजस्ति हस्ताक्षर गराईसकेपछि पैसा लैजान दबाब आयो । मैले त्यो पनि अस्विकार गरें । त्यसपछि मलाई राजकुमारी र उनका पति कपिल सहनिले ज्यान मार्ने धम्की दिईरहे । मैले मिति २०७८ असारमा जिल्ला प्रशासन कार्यालय रौतहटमा जिउ ज्यानको शान्ति सुरक्षाको व्यवस्था गरी पाउन निवेदन दिए ।

    जिल्ला अदालत रौतहटबाट २०७९ असार ७ गते भएको फैसलाबाट राजकुमारी देवीको सम्पत्ति लिलाम गरी साावा व्याज सहित विगो भराउने गरी फैसला भई २०८० असार २४ मा सर्लाहीस्थित प्रतिवादीको जग्गा कौडेना गाउपालिका वडा नं ४ बस्ने विश्वेस्वर साहले रु ३० लाख रूपैंयाँमा सकार्ने निर्णय भइसकेको थियो ।

    तर, मलाई ज्यान मार्ने धम्की दिएकी राजकुमारीले यस्तो षडयन्त्र गरिन् कि जिल्ला प्रशासन कार्यालय, रौतहटस्थित मुद्दा फााटका केही कर्मचारीसँग मिलेमतो गरी मलाई ‘मिटरव्याजीको झुटो आरोप’ लगाईन् । ‘५ लाख रूपैंयाँ मात्र लिन सहमत भएको’ भनि जवर्जस्ती कागजमा हस्ताक्षर गराएको कागजलाई उनले आधार बनाईन् ।

    ‘जवर्जस्ती कागजमा हस्ताक्षर गराएको’ सो कागज वदर गराई अदालतको फैसला वमोजिम साावा व्याज भराई दोषीलाई कारवाहीको माग गर्दै अनुनय विनय गरिरहेको छु । ‘मिटरव्याजीको झुटो आरोप’ लगाएर प्रशासनलाई प्रभावित पारेपछि म र मेरो परिवारका सदस्यविरुद्ध उल्टै पक्राउ पूर्जी जारी गरिएको छ । यतिबेला म आफ्नो घर छोडेर जानु परेको छ । म मात्र होईन मेरो सिंगो परिवारको उठिबास लागेको छ । मेरो पत्नि, छोरा, नाति, नातिनी लगायत घर छोडेर निस्किनु परेको छ । एक निर्दोष नागरिकलाई न्याय दिनु पर्ने ठाउमा मलाई उल्टै अन्याय भएको छ । दोषीलाई कारवाहीको माग गर्दै म पुनः सरकारसँग न्यायको माग गर्न चाहन्छु ।

  • ताजा समाचार