राष्ट्रसेवक
  • १२ साउन २०८१
  • मधेस प्रदेशमा दलित सहायता कक्ष राखिने


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • September 14, 2022

  • जनकपुरधाम, २९ भदौ । मधेस प्रदेशका प्रहरी कार्यालयमा दलित समुदायको सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिने भएको छ । दलित समुदायका अगुवासँगको अन्तक्र्रियामा मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मसउद आलम खाँले दलित समुदायलाई सहज होस् भन्ने उद्देश्यले सहायता डेक्स स्थापना गर्न लागेको जानकारी दिनुभयो । दलित समुदायलाई उजुरी दिन र उहाँहरुले आफ्नो समस्या सहजरूपमा प्रहरीसमक्ष राख्न सकोस् भन्ने उद्देश्यले प्रहरी कार्यालयभित्रै छुट्टै दलित सहायता डेक्स स्थापना गर्न लागेको र यसका लागि छिट्टै जिल्लाका प्रहरी प्रमुखहरूसँग समन्वय गरिने उहाँले बताउनुभयो ।

    “दलित समुदायमा थुप्रै समस्या छन्, दिनैपिच्छे दलितहरू बिभिन्न समस्या भोग्न बाध्य छन् तर पनि प्रहरीसमक्ष सहजरूपमा आफ्ना कुरा राख्न सकिरहेको छैनन् भन्ने गुनासो आएको छ”, प्रदेश प्रहरी प्रमुख खाँले भन्नुभयो, “त्यसैले तपाईँहरुको समस्यालाई समाधान गर्न र दलितको समस्या बुझ्न, उजुरी लिन हामी छिट्टै दलित सहायता कक्ष राख्छौँ ।” सकभर उक्त सहायता कक्षमा दलित समुदायकै प्रहरी कर्मचारीलाई परिचालन गर्ने छौँ, त्यो भएपछि त दलित समुदाय आफ्नो कुरा सहजरूपमा राख्न सक्छन्, उहाँको भनाइ थियो ।

    दलित समुदायको समस्या र जातिय विभेदका मुद्दालाई प्रहरी प्राथमिकताका साथ हेर्दै आएको उल्लेख गर्नुहुँदै प्रहरी नायब महानिरीक्षक खाँले यस विषयमा छिट्टै जिल्लाका प्रहरी प्रमुखहरूसँग छलफल गर्ने आश्वासनसमेत दिनुभयो । कार्यक्रममा सरकारका पूर्वसचिव डा मानबहादुर विश्वकर्माले हरेक प्रहरी एकाइमा दलित समुदायका लागि छुट्टै सहायता कक्ष स्थापना गर्न सरकारले निर्देशन दिइसकेको र मधेस प्रदेश सरकारको दलित सशक्तीकरण ऐनसमेत निर्देश गरिसकेको अवस्थामा तत्काल प्रहरी कार्यालयमा दलित सहायता कक्ष स्थापना गर्नुपर्ने बताउनुभयो ।

    उहाँले दलित समुदाय अझै विभिन्न किसिमका थिचोमिचोमा पर्दै आए पनि प्रहरीमा छुट्टै सहायता कक्ष नहँुदा अझै प्रहरीमा उजुरी दिन समस्या भोग्दै आएको बताउनुहुँदै तत्काल हेल्प डेक्स स्थापना भए दलित समुदायलाई प्रहरीसम्म पुग्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । मानवअधिकार रक्षक सञ्जाल धनुषाको आयोजनामा आयोजित छलफल कार्यक्रममा दलित अगुवा रामेश्वर महरा, विनोद महरा, लक्ष्मी मण्डल, कुलदीप दासलगायतले प्रहरीको व्यवहारमा परिवर्तन नआउँदा दलितहरूले न्याय पाउन नसकेको गुनासो गर्नुभयो ।

  • ताजा समाचार