राष्ट्रसेवक
  • १२ साउन २०८१
  • विकास र सुशासनमा अब्बल बन्दै सिञ्जा


    • राष्ट्रसेवक
    •    
    • September 14, 2022

  • जुम्ला, २९ भदौ । जुम्लाको सिञ्जा गाउँपालिका विकास र सुशासनमा अब्बल पालिका बन्दै गएको छ । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिको दोस्रो कार्यकाल सुरु भएसँगै सबैतिर उत्साहजनक लहर छाएको छ । यीमध्ये सीमित जनप्रतिनिधि दोहोरिएका छन् भने धेरै नयाँ अनुहार छन् । अघिल्लो कार्यकालको तुलनामा उनीहरूको काम गराइ उत्साहजनक र परिपक्व देखिएको छ । स्थानीय तहका जनप्रतिनिधिले दोस्रो कार्यकाल सुरु गरेको सय दिन बितिसकेको छ । यस अवधिमा केही स्थानीय तहले राम्रो र प्रभाव पार्ने काम गर्दै आएक छन् ।

    जुम्लाको सिञ्जा गाउँपालिकाको कामकारबाही हेर्दा केही आशाजनक काम देख्न सकिन्छ । सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल पनि गाउँपालिकालाई विकास योजना निर्माणदेखि सुशासन कायम गर्ने गाउँपालिकालाई अब्बल बनाउनमा होमिनुभएका छ । सिञ्जाका जनप्रतिधिले योजना छनोटदेखि काम गर्ने तरिकामा सुधार ल्याएको गाउँपालिका अध्यक्ष धितालले बताउनुभयो । सिञ्जालाई योजनाबद्ध विकासमा लैजानुपर्छ भन्ने स्थानीयवासीको आवश्यकता र मागअनुसार योजना छनोट भई काम सञ्चालनको तयारीमा रहेको अध्यक्ष धितालले जानकारी दिनुभयो । सिञ्जाको समग्र विकासका लागि जनपक्षीय कदम उठाउन पालिकाका सबै जनप्रतिनिधि लागिपरेका छन् । गाउँ कार्यपालिकाका निर्णय प्रमाणीकरण गरेर २४ घण्टाभित्र सार्वजनिक गर्न थालिएको छ ।

    गाउँपालिकाले वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिसकेको छ । पालिकालाई आर्थिक मितव्ययिता एवं पारदर्शी बनाउन खुला प्रतिस्पर्धाको कोटेशनबाट मात्र खरिद प्रक्रियाको काम अघि बढाइएको अध्यक्ष धितालले बताउनुभयो । गाउँपालिकालाई सुशासन कायम गर्ने र प्रशासनिक सेवा प्रवाह सुधारमा व्यापक जोड दिएको देखिन्छ । साथै गाउँपालिकाले आर्थिक दायित्व बढ्ने र प्रतिफल नहुने गतिविधि बन्द गर्ने निर्णय समेत गरेको छ । गाउँपालिकाका सबै निर्णय, क्रियाकलाप र दस्तावेज वेबसाइटमा प्रकाशित हुने व्यवस्था मिलाइएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रत्येक महिनाको १ गते नराकोटमा हाट बजार सञ्चालनमा ल्याइएको छ । टेलिफोन सेवाको टावर सुचारु गर्न साथै गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षकको अभाव हुन नदिन स्वयंसेवक शिक्षकको कार्यक्रम कार्यान्वयनमा ल्याएको अध्यक्ष धितालले जानकारी दिनुभयो । सिञ्जावासीको सहजताका लागि नापी, मालपोत र कृषि बैंक स्थापनाका लागि प्रक्रिया अघि बढाइएको छ ।

    स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित गर्नका लागि गाउँपालिकामा ल्याब स्थापना प्रक्रिया सुरु भई स्वास्थ्यचौकीमा ल्याब टेक्निसियन, ल्याब असिस्टेन्टको करार विज्ञापन गरेर प्रक्रिया अघि बढाइसकेको गाउँपालिकाले जनाएको छ । कृषि पेसालाई किसानसँग जोड्न नायब पशु स्वास्थ्य प्राविधिक र नायब पशु सेवा प्राविधिक कर्मचारीलाई करारमा लिई काम गर्न पालिकाको कृषि शाखा लागिपरेको छ । पालिकाको आन्तरिक राजस्वमा थप वृद्धि गर्न नदीजन्य गिट्टी, बालुवाको प्रारम्भिक वातावरणीय परीक्षण (इआइए) का लागि १५ दिने राय सुझाव पेश गर्न सूचना प्रकाशित भइसकेको छ । जुम्ली खस भाषाको अभिलेख गर्न भाषा आयोगसँग सहकार्य गरेर आयोगमा दर्ता प्रक्रियामा रहेको गाउँपालिकाले जनाएको छ ।

    पालिकाको केन्द्रमा रहेको नराकोट बजारलाई व्यवस्थित गर्न हरेक पसलमा अनिवार्य सामानको मूल्यसूची टाँस्नुपर्ने, बजार क्षेत्रका शौचालय खुला राख्ने र प्रत्येक दिन बजार सरसफाइ गर्नुपर्ने जनाइएको छ । पालिकाले आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह गरिसकेको छ । हिमा नदीका असला माछाका भुरा संरक्षणका लागि गाउँपालिकाले बजेटसमेत छुट्याएको छ । गाउँपालिकाभित्रका १ देखि ३ कक्षासम्म खस भाषाको पाठ्यपुस्तकबाट पढाइ भइरहेको छ । अब थप ८ कक्षासम्म खस भाषाबाट पढाइ गरिने गाउँपालिका अध्यक्ष धितालले जानकारी दिनुभयो ।

  • ताजा समाचार