राष्ट्रसेवक
  • ०६ कात्तिक २०८१
  • नुवाकोटमा बाल साहित्य महोत्सव हुने


    • राष्ट्रसेवक
    •    
    • September 14, 2022

  • नुवाकोट, २९ भदौ । ‘किताब पढौँ, अघि बढौँ’ भन्ने नाराको साथ आगामी असोज ४ र ५ गते नुवाकोटमा बालसाहित्य महोत्सव हुने भएको छ । नेपाल बालसाहित्य समाज, रुम टु रिड र रुडेक नेपालको संयुक्त आयोजनामा बाल साहित्य महोत्सव आयोजना हुन लागेको हो । आज विदुरमा पत्रकार सम्मेलन गरी महोत्सवको जानकारी दिइएको हो । बाल साहित्य महोत्सवमा बालबालिकाका रचना, बाल साहित्यका विभिन्न कृति, पठन संस्कृति, बाल साहित्यको प्रवद्र्धनलगायत कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । दुई दिने महोत्सवमा विभिन्न सात कार्यशालासमेत सञ्चालन हुने नेपाल बाल साहित्य समाजका उपाध्यक्ष प्रमोद प्रधानले जानकारी दिनुभयो ।
    प्रधानका अनुसार दुई वटा प्यानल बहस, पुस्तक चर्चा र बालबालिकाको लागि कथा, कविता, निबन्ध, चित्रकला, अभिनय, भित्तेपत्रिकालगायत सात विधामा विज्ञबाट सिर्जनात्मक कार्यशाला सञ्चालन हुनेछ । बालबालिकामा पठन संस्कृतिको विकास गराउन, पुस्तकप्रतिको अभिरुचि बढाउन, अभिभावकमा आफ्ना बालबालिकालाई बाल साहित्यका पुस्तक अध्ययन गराउन अभिप्रेरित गराउने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागेको उपाध्यक्ष प्रधानको भनाइ छ । उपाध्यक्ष प्रधानले सरकारले विद्यालयलाई पुस्तकालय स्थापना गर्न रकम दिए पनि त्यसको सही सदुपयोग नभएको र बाल साहित्यप्रति विद्यालयको धारणामा परिवर्तन आवश्यक रहेको बताउनुभयो । महोत्सवमा एक दर्जनभन्दा बढी बाल सहित्यका पुस्तकको विमोचन, पुस्तक प्रदर्शनी, हिँडाइपढाइ (रिडाथन)लगायत कार्यक्रम पनि समावेश गरिएको आयोजक समितिका संयोजक तथा रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिनुभयो । महोत्सवमा मुख्यवक्ता शिक्षाविद् विद्यानाथ कोइराला रहनुभएको छ ।
    महोत्सवमा जिल्लामा तीन सयभन्दा बढी विद्यालयका विद्यार्थी, शिक्षक सहभागी हुने अपेक्षा राखिएको आयोजकले जनाएको छ । महोत्सवलाई स्थानीयरुपमा जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय एकाइ, विदुर नगरपालिका, पञ्चकन्या गाउँपालिका, शिवपुरी गाउँपालिका र सूर्यगढी गाउँपालिकाको सहयोग रहेको आयोजकले जनाएको छ ।
  • ताजा समाचार