राष्ट्रसेवक
  • १२ साउन २०८१
  • स्वास्थ्य बिमा कार्यक्रम निजी कम्पनीलाई दिन लागिएको भन्दै चर्को विरोध


    • राष्ट्रसेवक
    •    
    • June 15, 2022

  • काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते बजेट प्रस्तुत गर्दै स्वास्थ्य बिमा कार्यक्रम थप व्यवस्थित र प्रभावकारी बनाउन घोषणा गरे । लाभग्राहीलाई सामुदायिक तथा सरकारी अस्पतालबाट मात्र बिमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइने उक्त घोषणामा उल्लेख थियो ।
    स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन बिमा कम्पनीमार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिने अर्थमन्त्री शर्माले बताएका थिए । स्वास्थ्य बिमा कार्यक्रम निजी कम्पनीमार्फत सञ्चालन गर्न लागिएको भन्दै अहिले विरोध भइरहेको छ ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले अर्थमन्त्री शर्माले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमासम्बन्धी कार्यलाई बुझ्न नसक्दा कम्पनीको जिम्मा लगाउने योजना आएको बताए ।

    ‘मैले समर्थन गर्न नसक्ने कुरा, स्वास्थ्य बीमा कम्पनीलाई दिने छ । वर्तमान प्रधानमन्त्रीको नेतृत्वको बेलामा ८० दिनजति म क्याबिनेटको सदस्य भएँ । त्यतिबेला पास गरेको ऐन हो यो । प्रचण्डको नेतृत्वमा गगनजीहरूले लामो गृहकार्य गर्नुभएको थियो । त्यसलाई हामीले सदनबाट पास गर्‍यौं,’ उनले भने, ‘अहिले यसलाई कम्पनीलाई दिने भन्ने कुरा कुनै कोणबाट हेर्दा पनि मैले बुझ्न सकेको छैन ।’

    स्वास्थ्य बिमा कार्यक्रम ‘युनिभर्सल कभरेज’को धारणबाट आएकाले यसलाई नाफा र नोक्सानको विषय बनाउन नहुने उनको भनाई थियो । ‘यो सामाजिक उत्तरदायित्वसँग गाँसिएको कुरा हो । यसको सरोकारवाला मन्त्रालय स्वास्थ्य मन्त्रालय नै हो । यसलाई अर्थतिर लैजान खोजिएको जस्तो बुझिएको छ,’ पोखरेलले भने ।