राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ‘कुछी भ्वय’ खाएर महाअष्टमी पर्व मनाउँदै नेवार समुदाय


    • राष्ट्रसेवक
    •    
    • October 3, 2022

  • भादगाउँ, १७ असोज । बडादशैँको आठौं दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छ । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । सो समुदायमा कुछी भ्वयको विशेष महत्व छ ।

    कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा ९रक्ती०, बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना) , अदुवा, बोडी, केराउ, मस्याङ घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ ।

    नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ । दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्को थरी संस्कृतिकर्मीले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकाले यसको नाम कुलछी भ्वय हुन गएको र पछि अपभं्रस भएर कुछी भ्वय हुन गएको भनाइ रहेको छ ।

    आजै सो समुदायले घरघरमा दशैँको मासु भित्र्याएका छन् । समुदायमा टोल छिमेक मिलेर संयुक्तरुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दशैँको मासु भित्र्याएको हो । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गर्दछ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ ।

  • ताजा समाचार