राष्ट्रसेवक
  • १२ साउन २०८१
  • क्यानमाथिको आर्थिक निलम्बन फुकुवा


    • राष्ट्रसेवक
    •    
    • June 15, 2022

  • cricate

    ह्युस्टन, अमेरिका — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाउँदै आएको आर्थिक नियन्त्रण फुकुवा गरेको छ । यससँगै विश्व क्रिकेटको सर्वोच्च निकायले क्यानमाथि लगाउँदै आएको निलम्बन पूर्ण रूपमा फुकुवा भएको छ ।

    आईसीसीले सरकारी हस्तक्षेप, विवादास्पद साधारणसभापछिको निर्वाचन, आर्थिक पारदर्शितालगायतका आरोप लगाउँदै क्यानलाई २०७३ साल वैशाखमा निलम्बन गरेको थियो । क्यानलाई निलम्बन गरे पनि आईसीसीले नेपाली क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भने खेल्न दिएको थियो ।

    आईसीसीले बनाएको स्वतन्त्र समिति हुँदै सल्लाहकार समितिमार्फत २०७६ साल असोजमा गरेको क्यान निर्वाचनले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यसको एक महिनापछि आईसीसीले क्यानमाथिको निलम्बन आंशिक रूपमा फुकुवा गरे पनि आर्थिक नियन्त्रण कायम राखेको थियो, जसका कारण त्यसयता क्यानले बनाएका कार्यक्रमहरूमा मात्र आईसीसीले रकम निकासा गर्ने गरेको थियो ।

    ‘निलम्बन फुकुवादेखि नै संघको निर्वाचन कार्यसमितिले आईसीसीको सम्पूर्ण मापदण्डहरूलाई क्रमश: पूरा गर्दै आर्थिक पारदर्शितामा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा आईसीसीले जेठ ३० मा पठाएको पत्रमार्फत संघको कन्ट्रोल फन्डिङ पूर्ण रूपमा हटाइसकेको जानकारी गराउँछौं,’ क्यानद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘अब उप्रान्त अन्य एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता एसोसिएट राष्ट्रहरूले सरह नेपालले आर्थिक अनुदान र गतिविधि गर्न पाउने जानकारी गराउँछौं ।’

    अघिल्लो महिनामात्र आईसीसी एसियाकी वित्तीय तथा अप्रेसन अफिसर नितिशा कोठारी र आईसीसी एसियाका डेभलपमेन्ट म्यानेजर अमिनुल इस्लामले काठमाडौं भ्रमण गर्दै क्यानको पछिल्लो स्थितिका बारेमा जानकारी लिएका थिए ।

  • ताजा समाचार